मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ सुकौरास्थित सडकमा यात्रुवाहक विद्युतीय गाडी दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य चार जना गम्भीर घाइते भएका छन्।
काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको भाडाको गाडी मंगलबार दिउँसो सडकबाट करिब एक हजार मिटर तल खसेको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्री अनुसार दिउँसो करिब २ बजे हेटौंडा-भीमफेदी-कुलेखानी-फाखेल सडकखण्डमा म.प्र. ०३–००१ ज ०७२० नम्बरको ईभी गाडी दुर्घटनामा परेको थियो।
दुर्घटनामा चालकसहित सवार कुल ८ जनामध्ये चार जना पुरुषको घटनास्थलमै ज्यान गएको छ। मृतकहरूको सनाखत गर्ने कार्य भइरहेको छ।
दुर्घटनामा दुई महिला र दुई पुरुष गरी चार जना घाइते भएका छन्। सुरक्षाकर्मीको टोलीले भिरबाट घाइतेहरूको उद्धार गरी तत्काल अस्पताल पठाएको छ।
घाइतेमध्ये दुई पुरुष र एक महिलालाई उपचारका लागि काठमाडौं पठाइएको छ भने एक महिलालाई हेटौंडा अस्पतालतर्फ पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनालगत्तै जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) श्याम बहादुर खत्रीको कमाण्डमा ट्राफिकसहित २१ जनाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
साथै उद्धार कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी बल, इलाका प्रहरी कार्यालय भीमफेदी र जिल्ला ट्राफिक कार्यालयबाट प्रहरी निरीक्षक तथा प्रहरी चौकी खानीखेतबाट प्रहरी सहायक निरीक्षकसहितको टोली संयुक्त रूपमा खटिएको थियो।
गाडी सडकबाट करिब एक हजार मिटर तल अत्यन्तै अप्ठ्यारो खोंचमा खसेकाले उद्धारमा निकै चुनौती भएको सुरक्षाकर्मीले बताएका छन्। गाडी दुर्घटनाको यकिन कारण खुल्न सकेको छैन भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: ३० भाद्र २०८३ १६:५२ मंगलबार





