१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

धनुषामा रात्री बसले अटोलाई ठक्कर दिँदा चार जनाको मृत्यु

धनुषाको गणेशमान चारनाथ नगरपालिकामा बसले अटोलाई ठक्कर दिँदा एकै परिवारका दुईसहित चार जनाको मृत्यु भएको छ।

दुर्घटनामा मृतक दम्पतीका दुई बालबालिका गम्भीर घाइते भएका छन्। घटनापछि आक्रोशित स्थानीयले पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध पारेका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार शनिबार साँझ करिब ६:५० बजे वीरेन्द्रबजारस्थित लोकमार्गमा विराटनगरबाट धनगढीतर्फ जाँदै गरेको सु.प्र.०१-००१ ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको प्र.२-०१-००१ ह १२३० नम्बरको अटोलाई ठक्कर दिएको थियो।

दुर्घटनामा परी अटोमा सवार चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गणेशमान चारनाथ नगरपालिका–४ का ४० वर्षीय रमेश मगर र उनकी श्रीमती ३५ वर्षीया निशा मगर रहेका छन्।

उनीहरूका १४ वर्षीया छोरी सितल र ८ वर्षीय छोरा रोशन गम्भीर घाइते भएका छन्। उनीहरूको अवस्था चिन्ताजनक रहेको र जनकपुरस्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

त्यसैगरी, दुर्घटनामा सोही नगरपालिका-१ का ३५ वर्षीय शम्भु मगर र ४० वर्षीय डमर राईको पनि मृत्यु भएको छ। मृतक चारै जनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल र न्युरो अस्पताल जनकपुरमा राखिएको छ।

दुर्घटनापछि आक्रोशित करिब चार सयको हाराहारीमा स्थानीयले राजमार्गमा टायर बालेर प्रदर्शन गर्दै दुवैतर्फी यातायात अवरुद्ध पारेका छन्।

स्थितिलाई नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। प्रहरीले ठक्कर दिने बसका चालक कैलालीका ३६ वर्षीय अनिल डगौरा थारुलाई नियन्त्रणमा लिएको छ।

प्रहरीले प्रदर्शनकारीहरूलाई सम्झाई-बुझाई गरी राजमार्ग खुलाउने प्रयास गरिरहेको जनाएको छ। यद्यपि स्थिति तनावग्रस्त रहेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रकाशित: १६ कार्तिक २०८२ ००:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App