जिल्ला प्रहरी कार्यालय बाँकेले बसमा डाँका चोरीमा संलग्न चारजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार नेपालगन्ज उपमहानगरपालिका–८ बसपार्कबाट काठमाडौँतर्फ जाँदै गरेको बसमा यात्रुहरूमाथि लुटपाट गर्ने उनीहरुलाई प्रहरले पक्राउ गरेको हो ।
बसमा चारजना यात्रु थिए । ति चारैजनाबाट उनीहरुले डाँका चोरी गरेका थिए । चैत १७ गते भएको उक्त घटनामा ६÷७ जनाको समूहले यात्रुहरूलाई धम्की दिँदै नगद ५९ हजार रुपैयाँ, मोबाइल फोन र अन्य जिन्सी सामान लुटेको प्रहरीले जनाएको छ । नेपालगन्ज–१९ बस्ने २४ वर्षीय रामु परियार, नेपालगन्ज–४ का २८ वर्षीय सुवास विष्ट, सोही वडाका २६ वर्षीय सञ्जय क्षेत्री र कोहलपुर नगरपालिका–५ बस्ने १९ वर्षीय सन्दीप जंग क्षेत्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डिएसपी) तथा प्रवक्ता दिपक पातलीले जानकारी दिए । उनीहरूको साथबाट घटनामा प्रयोग गरिएको कटुवा पेस्तोल र खुकुरीसमेत बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार पक्राउ परेकामाथि डाँका चोरीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । बाँकी फरार व्यक्तिहरूको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । यस घटनाले यात्रु सुरक्षामा प्रश्न उठाएको भन्दै प्रहरीले रात्रीकालीन गस्ती र निगरानी अझ कडा पार्ने बताएको छ । साथै, यात्रुहरूलाई सचेत रहन र शंकास्पद गतिविधि देखिए तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरिएको छ ।
प्रकाशित: १९ चैत्र २०८२ १९:११ बिहीबार





