२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
समाज

पूर्व प्रधानमन्त्रीको अनुभव- कुनै पनि पदमा नियुक्ति हुँदा पैसाकै कुरा हुने रहेछ

पूर्व प्रधानमन्त्री सुशिला कार्कीले राज्यका जुनसुकै उच्च पदमा नियुक्ति गर्दा पैसाको मात्रै कुरा हुने गरेको बताएकी छन्।

नेपाल रिपब्लिक मिडियाको स्थापना दिवसका अवसरमा आयोजित ‘नागरिक नायक’ घोषणा सभामा बोल्दै उनले आफ्नो अनुभव सुनाउने क्रममा नियुक्ति प्रक्रियामा मोटो रकमको चलखेल हुने गरेको बताएकी हुन्।

निकायदेखि पवित्र धार्मिक स्थलहरूको नियुक्तिमा समेत पैसाको लेनदेन हुने गरेको देख्दा आफू आश्चर्यमा परेको उनले सुनाइन्।

‘कुर्सीमा बसेर हेर्दा, कुनै पनि पदमा नियुक्ति गर्ने बेलामा पैसाकै कुरा हुँदो रहेछ। म त आफैँ छक्क परेँ ! पशुपतिको नियुक्तिदेखि लिएर सचिवको नियुक्तिसम्म पैसाकै कुरा हुँदो रहेछ। यति मात्र होइन, लुम्बिनीको नियुक्तिमा पनि पैसाकै कुरा उठ्दो रहेछ। यो सुन्दा र देख्दा मलाई अचम्म लाग्यो।’ कार्कीले भनिन्।

पशुपतिनाथ र शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीजस्ता पवित्र स्थलहरूको व्यवस्थापन सम्हाल्ने निकायमा समेत आर्थिक लेनदेनका आधारमा व्यक्ति छनोट हुने यथार्थले देशको भ्रष्टाचारको गहिराइलाई प्रस्ट पारेको उनको भनाइ थियो।

सचिवजस्तो देशको उच्च र स्थायी सरकार मानिने प्रशासनिक पदमा समेत पैसाकै भरमा नियुक्ति र सरुवा हुने परिपाटीले इमान्दार र योग्य व्यक्तिहरू पाखा लाग्ने गरेको उनले औंल्याइन्।

पैसा नदिई वा आर्थिक लेनदेनबिना नियुक्ति नै पाइँदैन भन्ने भाष्य राज्य संयन्त्रमा जरा गाडेर बसेको भन्दै उनले यस्तो प्रवृत्तिले देश कहिल्यै बन्न नसक्ने चेतावनी दिइन्।

राज्यसत्ता र नेतृत्वले इमान्दारिता नदेखाएसम्म र नियुक्ति प्रक्रियालाई पारदर्शी तथा योग्यतामा आधारित नबनाएसम्म सुशासनको कल्पना गर्न नसकिने उनको निष्कर्ष छ।

प्रकाशित: १३ वैशाख २०८३ २०:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App