पूर्वराज्यमन्त्री गोविन्दनाथ उप्रेतीको आज निधन भएको छ। काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित घरमा ८२ वर्षको उमेरमा उनको निधन भएको हो।
लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी रोगले ग्रसित उप्रेतीलाई उहाँको श्रीमतिको कारोनाकालमा निधन भएपछि भतिजा विष्णुबहादुरले रेखदेख गर्दै आएका थिए। आज बिहान ३ बजे उनको निधन भएको वडाध्यक्ष मोतीलाल तामाङले बताए। लामो समयदेखि वामपन्थी आन्दोलनमा समाहित भएका उनी मध्यपूर्वीय क्षेत्रमा ‘रातो बाघ’ ले परिचित थिए।
तत्कालीन समयमा सांसद हुँदै श्रमराज्यमन्त्री भएका उप्रेतीले मालेबाट एकीकृत भएपछि एमालेको राजनीति गरेका थिए। एमाले फुटपछि (नेकपा) माले र त्यसपछि स्वतन्त्र जीवनयाजन गरेका उनले पछिल्ला वर्षमा तत्कालीन माओवादी केन्द्रमा रही वामपन्थी आन्दोलनमा सहभागी हुँदै आएका थिए। काभ्रेपलाञ्चोक र विशेष गरी कोशीपूर्वको विकासमा उनको ठूलो योगदान रहेको छ।
आज उनीप्रति श्रद्धाञ्जली सभा गरी आफन्तको आगमन पश्चात आजै दिउँसो दोलालघाटमा दाहसंस्कार गरिने लामाले जानकारी दिए।
प्रकाशित: ५ माघ २०८२ १२:१६ सोमबार





