२७ मंसिर २०८२ शनिबार
image/svg+xml
समाज

पीडा बिर्सेर चेतना फैलाउँदै छन् कुष्ठरोग प्रभावित

बाँकेका कुष्ठरोग प्रभावित व्यक्तिले आफ्नो पीडालाई शक्तिमा बदलेर समुदायमा कुष्ठरोगबारे चेतना जगाउने अभियान थालेका छन्।

स्वयं रोगबाट प्रभावित भएर सफल उपचारपछि उनीहरूले स्वयं सहायता समूह गठन गरी लुकेका बिरामीलाई उपचारको दायरामा ल्याउन र सामाजिक लाञ्छना हटाउन सक्रिय भूमिका खेलिरहेका छन्।

जानकी गाउँपालिका–१, साइगाउँ निवासी गुलाम हसमत साई स्वयं कुष्ठरोगबाट प्रभावित छन्। रोगका कारण हात र आँखामा समस्या भएपछि जानकी–३ स्थित साइनिङ अस्पतालमा लामो समय उपचार गरेपछि उनको स्वास्थ्यमा उल्लेख्य सुधार आयो। स्वास्थ्य लाभ गरेपछि उनले कुष्ठरोग प्रभावितको हितका लागि स्वयं सहायता समूह गठन गरेका छन्।

“कुष्ठरोगबाट मैले धेरै दुःख पाएँ, समयमै उपचार गरेर अरू प्रभावितले दुःख पाउन नपरोस् भनेर गाउँ समाजमा सचेत गराउँदै आएको छु”, गुलाम हसमत साई भन्छन्, “अझै गाउँमा नखुलेका कुष्ठरोग प्रभावित व्यक्तिलाई उपचारको दायरामा ल्याउन हामीले सहजीकरण गर्दै आएका छौं।”

साईका अनुसार नियमित औषधि सेवन गरेमा कुष्ठरोग निको हुन्छ। स्वयं सहायता समूहका सदस्यले कुष्ठरोगको जोखिममा रहेका व्यक्तिलाई स्वास्थ्य संस्थामा जँचाउन पठाउने कार्यमा सहयोगी भूमिका निर्वाह गरिरहेका छन्। “बाँकेमै साइनिङ अस्पताल हुनु हाम्रो लागि वरदान सावित भएको छ”, उनी भन्छन्,  “यहाँ कुष्ठ रोगको सहज तरिकाले राम्रोसँग उपचार हुने भएकाले रोग लुकाएर होइन, जाँच गरेर उपचार गरे सञ्चो भइहाल्छ।”

वैजनाथ गाउँपालिका–८ टिटिहिरियास्थित स्वयं सहायता समूहका अध्यक्ष रोहित चौधरीले समाजमा कुष्ठरोगप्रति अझै गलत धारणा रहेको बताउँछन्। “कुष्ठरोग प्रभावित व्यक्तिलाई गाउँसमाजमा अझै हेयको दृष्टिले हेर्ने र लाञ्छना लगाउने कुसंस्कारले बिरामी उपचारको दायरा बाहिरै रहने गरेका छन्”, चौधरी भन्छन्।

कुष्ठ रोग प्रभावितको सामाजिक तथा आर्थिक हकहितका लागि सङ्गठित भई आफूहरूले शङ्कास्पद बिरामीलाई अस्पतालमा पठाउने गरेको उनले बताए। बाँकेमा कुष्ठ रोग प्रभावित व्यक्ति सङ्गठित भई पाँच स्वयं सहायता समूह स्थापना भएका छन्, जसमा करिब १०० जना प्रभावित आबद्ध छन्।

भारतमा कुष्ठरोगबाट प्रभावित भएपछि उपचारका लागि साइनिङ अस्पतालमा आएकी बर्दियाको गेरुवा गाउँपालिका–६ निवासी निर्मला थापाको पनि अहिले स्वास्थ्यमा सुधार आएको छ। घर फर्किएपछि उनले पनि स्वयं सहायता समूह गठन गरेर सम्भावित बिरामीलाई उपचारका लागि अस्पतालमा पठाउन सहयोग गर्ने सोच बनाएको बताइन्।

साइनिङ अस्पतालका प्रमुख मङ्गल थारुका अनुसार स्वयं सहायता समूहमा आबद्ध भएपछि कुष्ठरोग प्रभावित सामाजिक र आर्थिक रूपमा सशक्तीकरणका लागि अगाडि बढ्न सक्ने क्षमतामा विकास भएको छ।

“उहाँहरूले अहिले आफ्नो हकहित सँगसँगै नयाँ कुष्ठ रोगीको पहिचान र उपचारका लागि शङ्कास्पद बिरामीलाई अस्पताल प्रेरणा गरेर समाजमा सकारात्मक काम गर्दै आउनुभएको छ”, थारुले भने, “गुलाम हसमत साई, रोहित चौधरी, निर्मला थापा जस्ता कुष्ठरोग प्रभावितको यो प्रयासले रोगलाई लुकाउने होइन, समयमै उपचार गरेर रोगमुक्त भई समुदायमा सकारात्मक परिवर्तनको संवाहक बन्न सकिन्छ भन्ने सन्देश दिएको छ।”

पश्चिम नेपालमा कुष्ठरोगको प्रेषण केन्द्रका रूपमा रहेको बाँकेको जानकी–३ स्थित साइनिङ अस्पतालमा नयाँ बिरामी बढिरहेकाे छ। यो अस्पतालमा गत आव २०८१/ ८२ मा १७४ नयाँ कुष्ठरोगका बिरामी फेला परेका छन्। यो सङ्ख्या अघिल्लो आर्थिक वर्षको तुलनामा बढिरहेको अस्पतालका प्रमुख मङ्गल थारुले बताए।

साइनिङ अस्पताल आइएनएफ बाँकेले अघिल्लो आव २०८०/८१ मा १४६ नयाँ कुष्ठ रोगी पहिचान गरी उपचारका लागि विभिन्न स्वास्थ्य संस्थामा प्रेषण गरेको थियो। अस्पतालका प्रमुख थारुका अनुसार पहिचान गरिएका यी नयाँ बिरामीलाई उपचारका लागि पायक पर्ने नजिकको स्वास्थ्य संस्थामा प्रेषण गरिएको छ। एक वर्षमा १७४ नयाँ बिरामी पहिचान हुनुले रोग पहिचान र उपचारको आवश्यकता अझै उच्च रहेको देखाउँछ।

कुष्ठरोगी पहिचानमा सबैभन्दा धेरै बाँकेका ७१, बर्दियाका ४२, सुर्खेतका पाँच, दैलेखका तीन, जाजरकोटका चार, दाङका पाँच, सल्यानका दुई, प्यूठानका दुई, रुकुमका तीन, सुदूरपश्चिम प्रदेशका छ र भारतका ३१ गरी १७४ नयाँ कुष्ठरोगीको पहिचान भएको हो। पहिचान भएकामध्ये ७९ जना ४५ प्रतिशत बिरामीमा कुष्ठरोगको कीटाणु पोजेटिभ रहेको पाइएको उनले  बताए।

साइनिङ अस्पतालले बहिरङ्ग सेवा मार्फत नौ हजार ३८४ पुरुष र नौ हजार ५२४ महिला गरी कूल १८ हजार ९०८ सेवाग्राहीलाई स्वास्थ्य सेवा प्रदान गरेको छ। तीमध्ये कुष्ठरोग वा सम्बन्धित समस्या लिएका दुई हजार ७८४ र छाला तथा अन्य स्वास्थ्य समस्या लिएर १६ हजार १२४ सेवाग्राही आएको अस्पताल प्रमुख थारुले बताए।

अस्पतालले कुष्ठरोगीको पहिचान, अपाङ्गता रोकथाम तथा उपचार, कुष्ठरोग सम्पर्क परीक्षण, समुदाय स्तरमा छाला तथा कुष्ठरोग पहिचान शिविर, स्वास्थ्यकर्मीका लागि क्षमता अभिवृद्धि तालिम, समुदायमा कुष्ठरोग सचेतना कार्यक्रम, निः शुल्क उपचार सेवा लगायत गतिविधि गरिरहेको उनको भनाइ छ।

जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्र चौधरीले साइनिङ अस्पताल बाँकेको मात्र नभई पश्चिम नेपालकै प्रमुख उपचार केन्द्र भएकाले यसको प्रभावकारी सेवा प्रवाहमा स्थानीय सरकारलेसमेत आवश्यक समन्वय र सहकार्य गर्नुपर्नेमा बताए।

- भेषराज बस्नेत/रासस

प्रकाशित: २६ मंसिर २०८२ १२:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App