राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले नेपालमा विदेशी शक्ति तथा स्वार्थ समूहहरूले सरकार बनाउने र आफ्नो स्वार्थअनुकूल दबाब सिर्जना गर्ने खेल लामो समयदेखि खेल्दै आएको दाबी गरेका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत उनले विदेशी रणनीतिका चार चरणको विश्लेषण गरेका हुन्। सांसद शाहीका अनुसार विदेशी शक्तिहरूले सुरुमा सहयोग गरेर नेतृत्वलाई सत्तामा पुर्याउने र त्यसपछि आफ्नो स्वार्थअनुसार काम गर्न दबाब दिने गरेका छन्।
‘काम नभएपछि आफूले गरेको सहयोगको प्रचार गर्ने, सञ्चारमाध्यममार्फत दबाब सिर्जना गर्ने र अन्ततः आफ्नो स्वार्थ पूरा गर्न सरकारलाई बाध्य पार्ने रणनीति नेपालमा लामो समयदेखि चल्दै आएको देखिन्छ,’ उनले लेखेका छन्।
विदेशी शक्तिहरूको यस्तो रणनीतिक प्रभावका कारण विगतका विभिन्न आन्दोलन र राजनीतिक घटनाक्रममा नेपालले ठूलो मानवीय मूल्य चुकाउनुपरेको सांसद शाहीको जिकिर छ।
उनले विदेशी स्वार्थका खेलका कारण देशमा हजारौं नेपालीको रगत बगेको, हजारौं चेलीबेटीको सिन्दुर पुछिएको र निर्दोष नागरिकले अकालमै ज्यान गुमाउनुपरेको टिप्पणी गरे।
यस्ता बाह्य प्रभाव र षड्यन्त्रबाट जोगिन नागरिक सचेत हुनुपर्नेमा जोड दिँदै सांसद शाहीले भावना र हल्लाको पछाडि नलागी तथ्य र प्रमाणका आधारमा वास्तविकता बुझ्न सम्पूर्ण नेपालीहरूमा अपिलसमेत गरेका छन्।
उनले लेखेका छन्-
हजारौं चेलीबेटीको सिन्दुर पुछियो,
हजारौं नेपालीले अकालमै ज्यान गुमाए।
त्यसैले हामी हल्लाको पछाडि होइन, वास्तविकताको पछाडि लागौं।
भावनामा होइन, तथ्य र प्रमाणमा विश्वास गरौं।
प्रकाशित: २९ भाद्र २०८३ २०:४६ सोमबार


-600x400.jpg)

-600x400.jpg)
