११ आश्विन २०८३ आइतबार
image/svg+xml
समाज

प्रमुख नदीमा बहाव सतर्कता तहभन्दा माथि, बाढीसम्बन्धी सूचनाको पालना गर्न आग्रह

नारायणी नदीमा जलसतह खतरा तहभन्दा माथि पुगेपछि चितवन र नवलपरासीका नदी आसपासका क्षेत्रमा बाढी तथा डुबानको उच्च जोखिम बढेको छ।

जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गत जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र, बाढी पूर्वानुमान महाशाखाले आइतबार बिहान ७ः४५ बजे जारी गरेको विशेष बुलेटिनअनुसार नारायणी नदीको जलसतह खतरा तह ९ मिटरभन्दा माथि करिब ११ मिटर पुगेको छ। जलसतह अझै बढ्दो क्रममा रहेको महाशाखाले जनाएको छ।

देवघाट बाढी मापन केन्द्रमा नारायणीको जलसतह आज दिउँसोसम्म बढ्ने पूर्वानुमान गरिएको छ। महाशाखाका अनुसार जलसतह करिब १३ मिटर पुग्न सक्ने र यसको उच्चतम अवस्था आज बिहान ११ बजे आसपास देखिने अनुमान छ। आज साँझसम्म पनि नारायणीको जलसतह खतरा तहभन्दा माथि रहने सम्भावना उच्च रहेको बुलेटिनमा उल्लेख छ।

नारायणीका प्रमुख सहायक नदीमध्ये कालीगण्डकीको बहाव खतरा तहभन्दा उल्लेख्य रूपमा माथि पुगेको छ। त्यस्तै सेती, मादी, मर्स्याङ्दी, दरौंदी र चेपे नदीमा बहाव सतर्कता तहभन्दा माथि र बढ्दो क्रममा छ। बुढीगण्डकी र त्रिशूली नदीमा समेत बहाव सतर्कता तह नजिक पुगेको र बढ्दो क्रममा रहेको महाशाखाले जनाएको छ।

उच्च बहावका कारण चितवन र नवलपरासीका नारायणी नदी आसपासका होचा तथा डुबान सम्भावित क्षेत्रमा बाढीको जोखिम उच्च रहेको छ। नदी तटीय क्षेत्र, नदी किनार, तल्लो भूभाग तथा कमजोर तटबन्ध वा संरचना भएका स्थानमा विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।

महाशाखाले नारायणी आसपासका होचा तथा डुबान सम्भावित क्षेत्रमा रहेका नागरिकलाई तत्काल सुरक्षित तथा अग्लो स्थानतर्फ जान वा स्थानान्तरण हुन अनुरोध गरेको छ।

त्यस्तै, नारायणी तथा यसका सहायक नदीको तटीय क्षेत्रमा आवतजावत नगर्न, नदी किनार, पुल, तटबन्ध तथा जोखिमयुक्त स्थानमा अनावश्यक भीड नगर्न आग्रह गरिएको छ। कालीगण्डकी, सेती, मादी, मर्स्याङ्दी, दरौंदी, चेपे, बुढीगण्डकी र त्रिशूली नदी तथा तिनका शाखा खोलानालामा समेत आज साँझसम्म उच्च सतर्कता अपनाउन भनिएको छ।

स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायबाट जारी हुने निर्देशन र बाढीसम्बन्धी सूचनाको पालना गर्न पनि महाशाखाले आग्रह गरेको छ।

प्रकाशित: ११ आश्विन २०८३ ०८:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App