३० असार २०८३ मंगलबार
image/svg+xml
समाज

हेटौंडा–काठमाडौं जोड्ने सडकहरूमा रात्रिकालीन सवारी सञ्चालन बन्द

बाढी, पहिरो तथा ढुङ्गा खस्ने उच्च जोखिमका कारण हेटौंडा–काठमाडौं जोड्ने प्रमुख सडकखण्डहरूमा रात्रिकालीन सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले एक सूचना जारी गर्दै मंगलबार बेलुकी ६:३० बजेदेखि बुधबार बिहान ५:०० बजेसम्मका लागि सवारी आवतजावत बन्द गर्ने निर्णय गरेको हो।

प्रशासनका अनुसार हेटौंडा-भैंसे-काठमाडौं सडकखण्ड र हेटौंडा हुँदै काठमाडौं जाने कान्ति राजपथमा तोकिएको अवधिभर सवारी साधन चल्न पाउने छैनन्।

हेटौंडा–भीमफेदी–सिस्नेरी हुँदै काठमाडौं जाने सडकखण्डमा वर्षाका कारण ढुङ्गा खस्ने तथा पहिरो जाने उच्च जोखिम रहेकाले यात्रुको सुरक्षा र सडक दुर्घटना न्यूनीकरणका लागि यो कदम चालिएको हो।

गत असार २८ गते रातिदेखि परेको अविरल वर्षाका कारण मकवानपुरका विभिन्न स्थानमा बाढी र पहिरो जानुका साथै खोलानालामा पानीको बहाव बढेको छ।

भीमफेदीस्थित बेलिब्रिज मर्मतको क्रममा रहेको र वैकल्पिक डाइभर्सन बाढीले बगाएका कारण पनि आवतजावत प्रभावित भएको प्रशासनले जनाएको छ। मौसम पूर्वानुमानअनुसार थप वर्षा हुने सम्भावना रहेकाले बागमती क्षेत्रमा जुनसुकै बेला ग्रेगनसहितको लेदो आउन सक्ने जोखिम कायमै छ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीद्वारा हस्ताक्षरित सूचनामा जिल्लाका अन्य सडक मार्गहरूमा समेत अत्यावश्यक अवस्थाबाहेक रात्रिकालीन समयमा यात्रा नगर्न सम्पूर्ण चालक तथा यात्रुहरूलाई अनुरोध गरिएको छ।

विपद्जन्य घटना भएमा वा आपत्कालीन अवस्था सिर्जना भएमा तत्काल जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रको निःशुल्क सम्पर्क नम्बर १२३४ मा वा नजिकको स्थानीय तह, सुरक्षा निकाय एवं स्थानीय प्रशासनमा जानकारी गराउन प्रशासनले अपिल गरेको छ।

प्रकाशित: ३० असार २०८३ १८:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App