२५ आश्विन २०८३ आइतबार
image/svg+xml
समाज

बुढीगण्डकी बाढी: चार जलविद्युत् आयोजनामा ठूलो क्षति, केही क्षेत्रमा बल्न थाल्यो बिजुली

बुढीगण्डकी र यसको सहायक स्यार खोलामा आएको भीषण बाढीले गोरखा र धादिङका चार जलविद्युत् आयोजनासहित समग्र विद्युत् वितरण प्रणालीमा व्यापक क्षति पुर्‍याएको छ। क्षतिका बाबजुद प्रभावित केही क्षेत्रमा भने विद्युत् सेवा पुनः सञ्चालनमा आएको छ।

हाल भीमसेन थापा गाउँपालिकाका वडा नं. २, ३ र ४ मा विद्युत् सेवा सुचारु भइसकेको छ। यसैगरी, आरुघाट बजारसहित आरुघाट गाउँपालिकाको डाँडागाउँ ब्रान्च र आरुपोखरी ब्रान्चमा पनि विद्युत् आपूर्ति नियमित गरिएको छ।

धार्चे गाउँपालिकाका प्रभावित बस्ती जोड्ने पहुँच सडकमै क्षति पुगेका कारण त्यहाँ तत्काल विद्युत् सेवा पुनः सञ्चालन गर्न कठिनाइ भइरहेको छ। सडक सञ्चालनमा आउनासाथ मर्मत तथा पुनःस्थापनाको काम अघि बढाउने तयारी सम्बन्धित निकायले गरेको छ।

बाढीले निर्माणाधीन जलविद्युत् आयोजनाहरूमा ठूलो नोक्सानी पुर्‍याएको छ। टाइम्स इनर्जी प्रालिले प्रवर्द्धन गरिरहेको ३४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र र केही निर्माण उपकरण बाढीले बगाएको छ।

त्यस्तै, दोभान खोला हाइड्रोपावर लिमिटेडको २४.५ मेगावाटको दोभान खोला आयोजनाको क्याम्प क्षेत्रका घरहरू क्षतिग्रस्त भएका छन् भने बेलिब्रिजसमेत बगेको छ।

यसैगरी, यारु हाइड्रो पावर प्रालिको ३०.५९ मेगावाट क्षमताको यारु खोला आयोजनाको बेलिब्रिजमा क्षति पुग्नुका साथै निर्माण सामग्री र उपकरण बाढीले बगाएको छ।

वाटर इनर्जी डेभलपमेन्ट प्रालिद्वारा प्रवर्द्धित १६ मेगावाटको माछा खोला आयोजनाको पहुँच सडक र आयोजना स्थल जोड्ने पुलमा समेत बाढीले क्षति पुर्‍याएको छ।

वितरण प्रणालीतर्फ गोरखाको धार्चे गाउँपालिकामा ७० भन्दा बढी उच्च भोल्टेज पोल ढलेका छन् भने सोती, आर्खेत र आरुघाट बजार क्षेत्रका वितरण लाइनका पोलहरूमा क्षति पुगेको छ।

यस्तै, धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-२ स्याउली बजारमा ६ वटा न्यून भोल्टेज पोल बाढीले ढालेको छ। प्रतिकूल परिस्थितिका बाबजुद अवरुद्ध अन्य स्थानहरूमा पनि विद्युत् सेवा शीघ्र पुनःस्थापना गर्न आवश्यक प्रयास भइरहेको छ।

प्रकाशित: २५ आश्विन २०८३ २०:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App