२५ आश्विन २०८३ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

युक्रेनमा नयाँ राष्ट्रपति चुन्न ट्रम्पको सुझाव, जेलेन्स्कीले दिए यस्तो जवाफ

फाइल तस्बिर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा नयाँ राष्ट्रपति चुन्नुपर्ने बताएका छन्। त्यसको जवाफमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रूस नै युद्धका लागि जिम्मेवार रहेको बताएका छन्। उनले रूसले युक्रेनको ऊर्जा पूर्वाधारमा आक्रमण रोक्ने हो भने युक्रेनले पनि रूसी तेल प्रशोधन केन्द्रमा आक्रमण रोक्ने बताएका हुन्।

ट्रम्पले शनिबार युक्रेनमा नयाँ राष्ट्रपति चुन्ने समय आएको बताएका थिए। जेलेन्स्कीले युद्ध अन्त्य गर्न पर्याप्त प्रयास नगरेको र अमेरिकामा डिजेलको मूल्य बढ्नुमा पनि उनको भूमिका रहेको ट्रम्पको आरोप थियो। ‘मेरो सुझाव छ, उनीहरूले सम्झौता गर्न सक्ने नयाँ नेता चुन्नुपर्छ। जेलेन्स्कीले धेरैअघि नै सम्झौता गर्न सक्थे, तर कुनै कारणले उनले त्यसो गरेनन्,’ ट्रम्पले भनेका थिए।

यो पनि पढ्नुहोस्

रूससँग डिजेल किन्ने सम्झौता गरेका ट्रम्प भन्छन् : युक्रेनले नयाँ राष्ट्रपति पाउनुपर्छ

अमेरिकामा मध्यावधि चुनाव नजिकिँदै गर्दा इन्धनको मूल्य नियन्त्रण गर्ने प्रयासमा ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग रूसबाट डिजेल खरिद गर्ने विषयमा सम्झौता गरेका छन्। उनले पछिल्ला सातादेखि जेलेन्स्कीलाई रूसी ऊर्जा पूर्वाधारमा आक्रमण रोक्न आग्रह गर्दै आएका छन्। इरानमा अमेरिकाको नेतृत्वमा भइरहेको युद्धका कारण विश्व बजारमा ऊर्जा मूल्य बढेको विषयमा पनि ट्रम्पले युक्रेनलाई दोष दिएका छन्।

युक्रेन र युरोपेली अधिकारीहरूले भने रूसबाट डिजेल खरिद गर्ने अमेरिकी निर्णयप्रति असन्तुष्टि जनाएका छन्। उनीहरूका अनुसार यसबाट रूसले आफ्नो युद्ध अभियानका लागि थप आर्थिक स्रोत जुटाउन सक्छ।

यसैबिच, युक्रेनले रूसको भ्लादिमिर क्षेत्रमा रहेको प्रविधि कम्पनी यान्डेक्सको डाटा सेन्टरमा ड्रोन आक्रमण गरेको छ। कम्पनीका अनुसार आक्रमणबाट पूर्वाधारमा क्षति पुगेपछि डाटा सेन्टरको सञ्चालन पूर्ण रूपमा रोकिएको छ। घटनामा कोही घाइते नभएको कम्पनीले जनाएको छ। चार दिनभित्र यान्डेक्सका डाटा सेन्टरमा भएको यो तेस्रो आक्रमण हो।

आक्रमणका कारण रूसका विभिन्न सहरसहित काजाकिस्तान, बेलारूस र आर्मेनियाका केही प्रयोगकर्ताले ट्याक्सी अर्डर गर्न तथा डिजिटल सेवा प्रयोग गर्न समस्या भोगेको रूसी स्वतन्त्र समाचार संस्था एस्ट्राले जनाएको छ। यान्डेक्स रूसको प्रमुख सर्च इन्जिन तथा ट्याक्सी, अनलाइन किनमेल र क्लाउड सेवा सञ्चालन गर्ने कम्पनी हो।

यसैबिच, युक्रेनको जापोरिझियामा रूसी आक्रमणबाट चार बालबालिकासहित २३ जनाको मृत्यु भएको र ३० भन्दा बढी घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन्। घाइतेमध्ये आठ जना अस्पतालमा उपचाररत छन्। रूसको ब्रायान्स्क क्षेत्रमा भएको युक्रेनी ड्रोन आक्रमणमा एक जनाको मृत्यु भएको र दुई महिला घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन्। एजेन्सी

प्रकाशित: २५ आश्विन २०८३ २०:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App