१ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

जुम्लामा पाँच दिने गाईजात्रा सुरु

आइतबारदेखि जुम्लाको सदरमुकाम खलंगामा कर्णालीकै ठूलो जात्रा सुरु भएको छ । गाईजात्राको दिनदेखि सुरु हुने जात्रा श्रीकृष्ण जन्माष्टमी हुँदै राम नवमीको दिन सकिन्छ । पहिलो दिन गाईजात्रा निकालिएको जात्रा समितिका अध्यक्ष अशोक श्रेष्ठले बताए । 

‘दिवंगत भएका आफन्तहरूको सम्झना गर्दै उनीहरूको आत्म शान्तिको कामना गर्न गाईजात्रा पर्व मनाउन सुरु गरिएको हो,’ उनले भने, ‘जुम्ला उपत्यकामा नेवार समुदायको आगमनसँगै यो चलन भित्रिएको पाइन्छ । जात्रा ५ दिनसम्म चल्छ,’ उनले भने । 

यसपाली चन्दननाथ नगरपालिका-५ प्रशासन अगाडिबाट नवराज श्रेष्ठको घरबाट गाईजात्रा निकालिएको जात्रा समितिले जनाएको छ । ‘एक वर्षभित्र मृत्यु भएका आफ्ना परिवारका सदस्यको सम्झना र चिन्ता दूर गर्न मानिसलाई गाईको रूपमा सिंगारिन्छ,’ उनले भने, ‘गाईको पछाडि साना केटाकेटीलाई बाच्छाको रूपमा सिंगारिने जात्रा नै गाईजात्रा हो।’ 

गाईजात्रापछि रोपाइँ जात्रा, सानो पल्टन, मिम बादशाह, ठूलो पल्टन र बाघ-भालु जात्राजस्ता रोचक कार्यक्रमहरू क्रमशः आयोजना गरिन्छन् । यी कार्यक्रमहरूले केवल मनोरञ्जन मात्र होइन, जुम्लाको मौलिक संस्कृति र पहिचानलाई प्रदर्शन गर्छन् । भदौ कृष्ण प्रतिपदादेखि सुरु हुने यो जात्रा कृष्ण जन्माष्टमीको भोलिपल्ट लाखे काटेपछि मात्र अन्त्य हुन्छ । 

बजार परिक्रमा गर्दा श्रद्धालुहरूले गाईको पुच्छर समाई वैतरणी नदी पार गरिने धार्मिक विश्वासका साथ फलफूल, दही, चिउरा दान गर्ने चलन छ । लिच्छविकालमा मल्ल राजप्रताप मल्लले पुत्रशोकले विह्वल भएकी रानीलाई सान्त्वना दिन र सबैले यस्तो शोक बेहोर्नुपर्छ भन्ने देखाउन मानिस मृत्यु भएको घरबाट गाईजात्रा निकाल्ने व्यवस्था मिलाई रानीलाई देखाएका थिए । 

त्यसपछि रानीको मन शान्त हुन नसकेपछि हँसाउने कार्यक्रम गरेको इतिहास छ । यसरी सुरु भएको गाईजात्रा जुम्लामा वि.सं. १९५३ सालबाट लगातार मनाइँदै आएको छ । मृतकका घरबाट निकालिएको गाईलाई मुख्य बजारबाट कालेखोली हुँदै चन्दननाथ भैरवनाथ मन्दिरको परिक्रमा गरी पुरानो बसपार्क हुँदै जिप्रका, मुख्य बजारमा आएर समापन गरी मनाइन्छ । गाईजात्रामा जिल्लाको विकास, राजनीतिक, सांस्कृतिक र आर्थिक पक्षसँग सम्बन्धित रहेर व्यंग्य गरिन्छ । 

पछिल्लो समय गाईजात्रा सामाजिक कुरिति, राजनीतिक विकृति र प्रशासनिक कमजोरीलाई लक्षित व्यंग्याको प्रतिबिम्ब समेत हुँदै आएको छ । जात्रामा सम्भावित घटनालाई मध्यनजर गर्दै प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको डीएसपी रविन बाबु रेग्मीले बताए । नगरप्रहरी तथा स्वयंसेवकहरू खटिएका छन् । यो जात्रा केवल धार्मिक वा सांस्कृतिक उत्सव मात्र नभई जुम्लाको इतिहास, सामूहिक भावनाहरू र पहिचानको ज्वलन्त प्रतीक बनेको छ ।

‘जात्रामा मानिसको भिड हुने भएकोले आपराधिक क्रियाकलाप नियन्त्रणका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ,’ उनले भने, ‘श्रीकृष्ण जन्माष्टमीसम्म हुने कर्णालीकै जात्रालाई शान्त रूपमा सम्पन्न गर्न पोसाकसहित र सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ ।’ कर्णाली साविकका पाँच जिल्ला जाजरकोट, दैलेख, कालिकोट, मुगु, सुर्खेत, नेपालगन्ज, सुर्खेत र काठमाडौँबाट हेर्न आउने गरेका छन् । मानिसहरूको आगमनले जुम्लाको अर्थतन्त्र पनि तातिएको व्यापारीहरू बताउँछन् ।

प्रकाशित: २५ श्रावण २०८२ २१:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App