काठमाडौँ महानगरपालिकाको आर्थिक तथा नेपाल रेडक्रस सोसाइटी काठमाडौँ शाखाको प्राविधिक सहयोगमा सञ्चालित प्राथमिक उपचार तालिम प्रभावकारी बनेको छ।
यसका लागि महानगरपालिका र सोसाइटीबीचमा सम्झौता समेत भएको छ। हालसम्म ६ वडाका १५१ जनालाई प्राथमिक उपचार तालिम प्रदान गरिएको छ। लाभान्वित हुनेमा ११४ महिला र ३७ पुरुष छन्। नेपाल रेडक्रस सोसाइटी काठमाडौँका सभापति श्यामकाजी डोटेलले प्राथमिक उपचार प्रदान गरेमा विपद्को बेलामा हुन सक्ने घटनामा उद्दार र प्राथमिक उपचार प्रदान गर्न सहज हुने बताए। टोलमा युवाहरूको सङ्ख्या घट्दै गएको बेलामा महिलाले यस्ता तालिम लिँदा वृद्धवृद्धालाई सहयोग पुग्ने उनको भनाइ छ।
काठमाडौँ महानगरपालिका महामारी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रमका फोकल पर्सन ऋषिप्रसाद भुषालले यस्ता तालिम आपत्काल व्यवस्थापनका लागि उपयोगी हुने बताए। उक्त तालिमलाई महानगरभित्रका ३२ वडामै प्रदान गरिने महानगरले जनाएको छ।
यसरी लिएको तालिमबाट प्राप्त गरेको प्रमाणपत्र नेपालसहित १९२ देशमा मान्य हुनेछ। तालिममा दुर्घटना, चोटपटक वा स्वास्थ्यजन्य आपत्कालीन परिपस्थितिमा आफू नजिक रहेका साधन तथा वस्तुको उपयोग अवस्था बिग्रिन नदिने, स्थिर बनाउने र सुधार गराउने सीप सिकाइन्छ।
दुर्घटना, चोटपटक, अचानक बिरामी पर्ने अवस्थाजस्ता स्वास्थ्यजन्य आपत्कालीन परिस्थितिमा बिरामीलाई अस्पताल पु¥याउनुअघि अवस्था थप बिग्रिन नदिनु तालिम सञ्चालनको मुख्य उद्देश्य रहेको काठमाडौँ महानगरपालिकाले जनाएको छ।
उक्त तालिममा दुर्घटना स्थलमा आफ्नो र घाइतेको सुरक्षा, घाइतेको अवस्था प्रारम्भिक जाँच, मुटुको धड्कन वा श्वासप्रश्वास बन्द भएको व्यक्तिलाई छाती थिचेर र कृतिम श्वास दिएर पुनर्जीवित गराउने विधि (सिपीआर), रक्तश्राव नियन्त्रण गर्ने तरिका सिकाइन्छ।
प्रकाशित: १० वैशाख २०८३ ०९:५८ बिहीबार





