मोरङको बुढीगंगा गाउँपालिका–३ गोकुवास्थित मुसहर बस्तीमा बुधबार दिउँसो भीषण आगलागी हुँदा ११ वटा घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्।
दिउँसो करिब २ बजेतिर सुरु भएको आगलागी करिब ४५ मिनेटपछि नियन्त्रणमा आएको मोरङ प्रहरीका सूचना अधिकारी डिएसपी लीलाराज लामिछानेले जानकारी दिए। उनका अनुसार आगलागीबाट ११ घरसँगै घरभित्र रहेका सुनचाँदी, नगद, लत्ताकपडा तथा अन्य सरसामान जलेर नष्ट हुँदा करिब १ करोड १७ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा तथा विराटनगर, इनरुवा र दुहबीका दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।
प्रहरीका अनुसार बस्तीका अधिकांश घर फुसको छाना र टाटीबेराले बनेका कारण आगो तीव्र गतिमा फैलिएको हो। कमजोर संरचनाका कारण आगो तत्काल नियन्त्रणमा लिन कठिन भएको बताइएको छ। आगलागीबाट घरसँगै लत्ताकपडा, अन्नपात, नगद, सुनचाँदी लगायत दैनिक उपभोगका सामग्री जलेर नष्ट भएका छन् भने क्षतिको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार सोनी ऋषिदेवको घरमा विद्युत् सर्ट भई आगलागी सुरु भएको देखिएको छ। आगलागीका क्रममा घरभित्र रहेका दुई वटा ग्यास सिलिन्डर विस्फोट हुँदा आगो झन् फैलिएको थियो। आगो थप फैलिन नदिन प्रहरी र स्थानीयले बस्तीबीचका केही घर भत्काएर नियन्त्रणको प्रयास गरेका थिए।
आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।
बुढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगरका अनुसार आगलागीबाट विस्थापित मुसहर परिवारलाई तत्कालका लागि नजिकैको विद्यालयमा बसोबास र खानपानको व्यवस्था गरिएको छ। उनले हावाहुरी र वर्षाका कारण थप समस्या नहोस् भनेर अस्थायी रूपमा विद्यालयमा राखिएको बताए।
प्रकाशित: ४ चैत्र २०८२ २०:३६ बुधबार





