कालीकोटको शुभकालिका गाउँपालिका–६ हाउडीस्थित एक घरमा आगलागी भएको छ। बिहीबार राति १२ बजे विद्युत् लाइन सर्ट भएर कपडामा लागेको आगो काठ हुँदै घरमा सल्किँदा चार परिवार बस्ने ९ कोठे घर जलेर नष्ट भएको हो ।
स्थानीय रमेश शाही, खडकबहादुर शाही, वीरेन्द्र शाही र नरेन्द्र शाहीको घर जलेको कालीकोटका प्रहरी प्रमुख टेकबहादुर रावतले जानकारी दिए । उनका अनुसार मानवीय क्षति भएको छैन । घरभित्र काठ र छानामा पत्थरले छाएको हुँदा आगो फैलिएको र त्यस बेला घरमा रहेका खडकबहादुर शाही,उनकी भाउजू लाटी शाही,छोरा रमेश शाही तथा नरेन्द्र शाहीका परिवार निस्किन सफल भएको डिएसपी रावतले बताए ।
चार परिवारका १५ जना बस्ने साझा घर भए पनि अरू सदस्य पशु चौपाया लिएर लेकको गोठमा गएका थिए । पीडितहरूले प्रहरीलाई करिब ३० लाख रुपैयाँ क्षतिको विवरण दिएका छन् । डिएसपी रावतका अनुसार नगद ६ लाख ५० हजार, ९ तोला सुन (१४ लाख), १५ तोला चाँदी (५० हजार), धान, चामल, गहुँ, जौ, मास र सिमी (२ लाख), लत्ता कपडा (३ लाख), भाँडा–भाँडी (३ लाख) र काठ (१ लाख) जलेर नष्ट भएको छ ।
प्रहरी टोली राति नै घटनास्थल पुगे पनि शुक्रबार बिहान मात्र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको सूचना अधिकारी भीरबहादुर सुनारले जानकारी दिए ।
घरमा आगलागी भएपछि चार परिवारका १५ जना बिचल्ली भएको शुभ कालिका–६ का वडाध्यक्ष दीपबहादुर शाहीले बताए । उनले पीडित परिवारलाई आफ्नो घरमा बसालिएको जानकारी दिए ।
शुभकालीका गाउँपालिकाका अध्यक्ष गोविन्द्रप्रसाद आचार्यका अनुसार गाउँपालिकाले पीडित परिवारलाई उचित राहतको व्यवस्थापन गर्ने तयारी गरेको बताए ।
प्रकाशित: १६ श्रावण २०८२ १७:५४ शुक्रबार





