२२ भाद्र २०८३ सोमबार
image/svg+xml
समाज

पानी खोज्दै गाउँ नै रित्तिने डर, सुकेका मुहान ब्युँझाउन जुटे काभ्रेका ७ स्थानीय तह

जलवायु परिवर्तन, भूकम्प तथा जथाभावी पूर्वाधार विकासका कारण काभ्रेपलाञ्चोकका २७ प्रतिशत खानेपानीका मुहान सुकेका छन्।

जिल्लाका सातवटा स्थानीय तहमा गरिएको विस्तृत सर्वेक्षणमा पानीका स्रोतहरू तीव्र रूपमा सुक्दै गएको पाइएपछि स्थानीय सरकारहरू मुहान पुनर्जीवित तथा जल पुनर्भरण अभियानमा जुटेका छन्।

धुलिखेल, पनौती, पाँचखाल र नमोबुद्ध नगरपालिका तथा बेथानचोक, रोशी र तेमाल गाउँपालिकाले पानीको सङ्कट टार्न संयुक्त पहल थालेका हुन्।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रसँगको सहकार्यमा गरिएको सर्वेक्षणमा ती तहहरूका ५ हजार १६८ मूल तथा मुहान र ५२१ पोखरीमध्ये २७ प्रतिशत पूर्ण रूपमा सुक्खा भइसकेको भेटिएको छ।

पानीका मुहान सुक्दा स्थानीय बासिन्दा पानी खोज्न टाढा धाउनुपर्ने, वर्षाको पानीमा निर्भर हुनुपर्ने र गाउँ नै छाडेर बसाइँ सर्नुपर्ने अवस्था आएपछि सात स्थानीय तहले सन् २०२४ को जनवरीमै इसिमोडसँग मुहान पुनर्जीवनको सम्झौता गरेका थिए।

तर, २०८१ असोजमा आएको भीषण बाढीपहिरोले खानेपानीका मुहान र संरचनामा ठूलो क्षति पुर्‍याएपछि रोकिएको यो अभियान अहिले पुनः सुरु गरिएको छ।

रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाका अनुसार क्षतिग्रस्त आयोजनाहरूको पुनर्निर्माणसँगै सुकेका मुहान ब्युँझाउने कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइएको छ।

पानी पुनर्भरणका लागि रोशी गाउँपालिकाले योजनाबद्ध काम अघि बढाएको छ। गाउँपालिकाले इसिमोड र सिप्रेडसँग मिलेर ‘इन्टिग्रेटेड क्लाइमेट एडप्टेसन सोलुसन्स फर द हिन्दू कुश हिमालय’ परियोजनाअन्तर्गत ‘एकीकृत अनुकूलन समाधान प्याकेज’को परीक्षण सुरु गरेको छ।

रोशीका २२ प्रतिशत पानीका मुहान सुक्खा रहेको तथ्याङ्क छ। अहिले वडा नं-१ स्याउरेटार र वडा नं-२ चण्डीबेसीमा जोखिम नक्साङ्कन, जल बाँडफाँट प्रणाली र १५ सय बहुउपयोगी बिरुवा रोपेर संरक्षणको काम थालिएको छ।

यस प्याकेजले मुहान संरक्षणसँगै स्वच्छ ऊर्जाको पहुँच, रैथाने बाली तथा जैविक विविधताको संरक्षण र महिला तथा सीमान्तकृत समुदायको उत्थानशीलतालाई एउटै प्रणालीमा जोडेको इसिमोडकी कार्यक्रम अधिकृत सदीक्षा गुरागाईंले जानकारी दिइन्।

यता बेथानचोक गाउँपालिकामा हालै मात्र ३६९ वटा पानीका मुहान पहिचान भएका छन्। गाउँपालिका अध्यक्ष भगवान अधिकारीले पहिचान भएका मुहानहरूको वैज्ञानिक व्यवस्थापन, संरक्षण र उपयोगका लागि तत्काल योजना बनाएर कार्यान्वयन गरिने बताए।

भविष्यमा देखिने खानेपानीको गम्भीर सङ्कट टार्न अहिले नै मुहान संरक्षण र पुनर्भरणमा साझा प्रयास आवश्यक रहेको उनको भनाइ छ। कुल १३ स्थानीय तह रहेको काभ्रेपलाञ्चोकमा बाढीपहिरो, वन फँडानी, अव्यवस्थित सडक निर्माण, भूकम्प र जलवायु परिवर्तनका कारण भूमिगत जलस्रोत सङ्कटमा परेको छ।

इसिमोडका अनुसार हिन्दूकुश हिमालय क्षेत्रका करिब ९० लाख पानीका मुहानहरू जलवायु परिवर्तन, अव्यवस्थित भूमि प्रयोग र भूमिगत पानीको अत्यधिक दोहनका कारण जोखिममा छन्।

पहाडी समुदायको जीवनयापन, पशुपालन, कृषि र आपसी विवाद न्यूनीकरणका लागि मुहान संरक्षण गर्नु अहिलेको अनिवार्य आवश्यकता बनेको छ।

प्रकाशित: २२ भाद्र २०८३ १६:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App