मध्यराति घरमै सुतिरहेका ८५ र ८६ वर्षीय वृद्ध दम्पतीलाई डोरी तथा टेपले बाँधेर ज्यान मार्ने धम्की दिँदै चोरी गर्ने पाँच सदस्यीय गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रामेछापको टोलीले लुटपाटमा संलग्न गिरोहलाई चोरी गरिएका धनमाल तथा प्रयोग गरिएका सवारीसाधनसहित भक्तपुरका विभिन्न स्थानबाट पक्राउ गरी सार्वजनिक गरेको हो।
गत भदौ १८ गते राति करिब १२ बजे रामेछापको खाँडादेवी गाउँपालिका-२ मझुवा नेवारटोलस्थित घरमा ८५ वर्षीय बखतमान लामा र उनकी श्रीमती ८६ वर्षीया कान्छी माया तामाङ सुतिरहेका थिए।
सोही समयमा मुख छोपेर आएका तीन जनाको समूहले घरको ढोका फुटाएर भित्र प्रवेश गरी वृद्ध दम्पतीको हात प्लास्टिकको टेपले बाँधिदिएका थिए। उनीहरूले वृद्ध दम्पतीको मुख थुन्ने, आँखामा पट्टी बाँध्ने र ज्यान मार्ने धम्की दिँदै शरीरमा रहेका सुनका गहना र घरभित्र राखिएको नगद लुटेर फरार भएका थिए।
घटनालगत्तै अनुसन्धानमा खटिएको प्रहरी टोलीले प्राविधिक तथा स्थलगत अनुसन्धानका आधारमा भदौ २० गते भक्तपुरका विभिन्न ठाउँबाट लुटपाटमा संलग्न पाँचै जनालाई नियन्त्रणमा लिन सफल भएको थियो। पक्राउ पर्नेमा काठमाडौंमा स्कुल बस चलाउनेदेखि इनड्राइभ चालक र सुन व्यवसायीसम्म रहेका छन्।
प्रहरीका अनुसार काठमाडौंको एक निजी विद्यालयको सवारी चालकका रूपमा कार्यरत सिन्धुलीको घ्याङलेक गाउँपालिका-२ का २५ वर्षीय सुमन जर्घा मगरलाई नगद २५ हजार रुपैयाँ, रेडमी मोबाइल र अपराधमा प्रयोग भएको बा. ७३ प ८७१२ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकलसहित पक्राउ गरिएको छ।
यसैगरी लुटपाटमा संलग्न बस सहचालक रामेछापको खाँडादेवी-२ का ३२ वर्षीय दिर्घराज मोक्तानको साथबाट नगद ५२ हजार २०० रुपैयाँ, एनएमबी बैंकको चेक, ग्लोबल आईएमई बैंकको राजस्व भौचर तथा वारदातका क्रममा लगाएको ज्याकेट र हाफ कट्टु बरामद भएको छ।
यस्तै, काठमाडौंमा इनड्राइभ चलाउँदै आएका रामेछापको खाँडादेवी-२ का ३३ वर्षीय पशुपति श्रेष्ठको साथबाट बा. ७२ प ५५८ नम्बरको मोटरसाइकल, नगद ६ हजार ४६० रुपैयाँ, लक्ष्मी सनराइज बैंकको खातामा रहेको १ लाख ३१ हजार १४ रुपैयाँ मौज्दात, शुभश्री सहकारीको बचत पासबुक, २२ वटा बुद्धचित्तको मालाको दाना, ढलौटका दुईवटा दियो (पानस टुकी), पाँचवटा पुराना सिक्का र सुनजस्तो देखिने पहेँलो धातुको औंठी बरामद गरिएको छ।
लुटपाट गरिएको सुनको कारोबारमा संलग्न रहेको आशंका गरिएका झापाको दमक–७ का ४४ वर्षीय सुनचाँदी व्यवसायी पिताम्बर गहत्तराज भक्तपुरबाट मोबाइलसहित पक्राउ परेका छन् भने धनकुटाको बेलाहारा-५ का ३८ वर्षीय दिपक भन्ने गुणराज विश्वकर्मालाई सुनजस्तो देखिने पहेँलो धातुको दुईवटा रिङसहित प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट मुख्य अभियुक्त पशुपति श्रेष्ठको समूहले यसअघि पनि रामेछापमा शृङ्खलाबद्ध चोरी गरेको पुष्टि भएको छ। यो समूहले खाँडादेवी गाउँपालिका-७ स्थित प्रसिद्ध रुद्रेश्वर महादेव मन्दिरको दानपेटिका फुटाएर रकम चोरी गरेको पाइएको छ।
यसबाहेक गत असार १ गते खाँडादेवी-३ बस्ने सुन्दरी श्रेष्ठको गोठबाट करिब ३० केजीको खसी र भदौ ७ गते सोही ठाउँका रामबहादुर श्रेष्ठको गोठबाट १५ केजीको बोकासमेत यही समूहले चोरेको खुलेको छ।
पक्राउ परेका अभियुक्तहरूको पुरानो आपराधिक रेकर्डसमेत फेला परेको छ। पशुपति श्रेष्ठविरुद्ध यसअघि काठमाडौंको प्रहरी वृत्त कालीमाटीबाट डाँका तथा चोरी कसूरमा, दिर्घराज मोक्तानविरुद्ध जिल्ला प्रहरी कार्यालय रामेछापबाट अभद्र व्यवहारमा र गुणराज विश्वकर्माविरुद्ध प्रहरी वृत्त बौद्धबाट जुवा सम्बन्धी कसूरमा मुद्दा चलेको देखिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कमल राउतले जानकारी दिएका छन्।
पक्राउ परेका सबैविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: २२ भाद्र २०८३ १६:०४ सोमबार




-600x400.jpg)
