२२ भाद्र २०८३ सोमबार
image/svg+xml
अर्थ

पर्यटन व्यवसायी भन्छन्: ७० प्रतिशत पुगेको बुकिङ ५ प्रतिशतमा झर्‍यो

सेप्टेम्बरको रद्द, अक्टोवर–नोभेम्बरको अझै थाती

सेप्टेम्बरदेखि पर्यटकीय सिजन सुरु हुन्छ। झन्डै चारमहिना चल्ने यो सिजनको सुरुवातताका पर्यटन व्यावसायी निकै नै आशावादी थिए। भारतीय सहित तेश्रो मुलुकका विदेशी पाहुनाको आगमनको राम्रो संकेत व्यावसायीले पाएका थिए। त्यसै अनुसार होटलको बुकिङ पनि दिनदिनै उकालो लाग्दो थियो। २५ प्रतिशत हाराहारीमा रहेको बुकिङ उकालो लागेर ७० प्रतिशतसम्म पुगिसकेको थियो। 

तर, जब रसुवा भोटेकोशीमा बाढी आयो, बाढीमा परेर सयौं विदेशी पर्यटक अहिले पनि सम्पर्कविहीन छन्। त्यही प्रभाव पर्यटकीय सिजनमा पर्दा अहिले विदेशी पर्यटकले होटलको अग्रिम बुकिङ धमाधम रद्द गरिरहेका छन्। आउने तयारीमा रहेका पाहुना रोकिएका छन्। सेप्टेम्बरको अधिकांश अग्रिम बुकिङ रद्द भईसकेको पर्यटन व्यवासायीले बताएका छन्।  

‘अग्रिम बुकिङ निकै नै उत्साहजनक थियो। हामीले यो सिजनमा राम्रो आकारमा पाहुना पाउने अपेक्षा गरेका थियौं। तर, जब बाढीले तहसनहस बनायो, त्यसको असर पर्यटनमा परिहाल्यो, बाढी आएकै दिनदेखि धमाधम बुकिङ रद्द हुन थाल्यो,’ पर्यटन व्यवासायी दोर्जे लामा भन्छन, ‘पर्यटन क्षेत्रमा फेरि सन्नाटा छाएको छ। पर्यटकले धमाधम बुकिङ रद्द गरेपनि व्यावसायीमा पनि अन्योलता छाएको छ।’  

उनका अनुसार सेप्टेम्बरको अधिकांश बुकिङ रद्द भईसकेका छन्। अक्टोवर र नोभेम्बरको बुकिङ पनि अहिलेसम्म राम्रो रहेको तर, अहिले नै पक्का हुने अवस्था नरहेको उनले बताए। ‘अक्टोवर–नोभेम्बरसम्म पाहुना आउने अपेक्षा छ। सरकारले ‘नेपाल खुला छ’ भनेर सन्देश त दिएको छ, तर, त्यो नै पर्याप्त भएन,’ उनले भने, ‘कम्तिमा सुरक्षित ठाउँमा घुम्न सकिन्छ भनेर सन्देश प्रवाह गर्ने हो भने अबको बुकिङ प्रभावित नहुन सक्थ्यो। तर, त्रासैत्रासले पाहुनाले धमाधम बुकिङ रद्द गरेका छन्।’

व्यावसायीका अनुसार यतिबेलाको समय पदयात्राका लागि उपयुक्त मानिन्छ। नेपालमा अबको समयमा वर्षा कम हुने र मौसम खुल्ने भएकोले पनि पदयात्राका लागि पर्यटक आउन चाहन्छन। तर, अहिले त्यही यात्रा रुटमा बाढीले राजमार्गमा क्षति गरेको छ। त्यसैको प्रभावस्वरुप आउन चाहेका पाहुना पनि रोकिएको व्यावसायीको भनाई छ।  

‘सेप्टेम्बरको बुकिङ त निकै नै कम भईसकेको छ। अधिकांश बुकिङ रद्द भईसकेको छ। अहिलेसम्म अक्टोवर र नोभेम्बरको बाँकी छ। तर, अक्टोवर–नोभेम्बरको बुकिङ कसरि अघि बढ्छ भन्न सकिन्न,’ माउन्ट कैलाश रिसोर्टका संचालक नरेश भट्टराई भन्छन, ‘बाढीपछि एकाएक बुकिङ रद्द भयो। सिजनका लागि आउन चाहेका विदेशीले एकाएक यात्रा रोक्न बाध्य भएका छन।’ 

उनका अनुसार अहिले ब्यापारको आकार निकै नै कम भएको छ। बाढी नआउँदाको दिनसम्म पोखरा क्षेत्रका होटलको अकुपेन्सी करिब ३० प्रतिशत हाराहारीमा रहेपनि अहिले त्यो आकार झनै तल झरेको उनले बताए।  

‘विदेशीको पदयात्रा रोकियो। बाटो अवरुद्ध हुँदा आन्तरिक पाहुना आउन पाएनन। पोखरा आउनेजति सबै विदेशी पाहुना हवाईजहाजमै आउँछन् भन्ने पनि छैन। राती अबेरसम्म उडान पनि छैननन, त्यसैले सबैतिर प्रभावित भएको छ,’ उनले भने। भट्टराईका अनुसार सेप्टेम्बरको बुकिङ यतिबेला ६० प्रतिशत हाराहारीमा पुगिसकेको थियो।

‘यो वर्षको राम्रो सिजन पर्यटन क्षेत्रले गुमाएको छ। भारतीय पाहुनाको बुकिङ त शुन्यमा झरेको छ। अरु मुलुकका विदेशीको कमजोर बनेको छ,’ उनले भने, ‘बाढीमा परेर धेरै भारतीय पर्यटकले ज्यान गुमाएको र केही अझै हराएकोले पनि भारतीय पाहुना आउने अवस्था छैन।’  

व्यावसायीले पोहोर यहीबेला जेनजी आन्दोलनका कारण पर्यटन क्षेत्रमा यस्तै मार खेपेका थिए। अहिले फेरि पर्यटक भित्रिने सिजनकै मुखमा आइपरेको प्राकृतिक विपद्तले सबैतिर मार परेको उनले बताए। 

‘पोहोर पनि सिजनको बेला यस्तै सुनसान भएको हो। यो पटक त विदेशीको आगमन भइहाले पनि नेपालका सबैतिरका पदयात्रा क्षेत्र जोखिम रहेको हल्ला पुगेको छ। विदेशी पर्यटक नेपालको पदयात्राका लागि आउने हुन। कहिले कता त कहिले कता जोखिम छ भन्ने सन्देश प्रवाह हुँदा पनि त्यसको असर परेको छ,’ उनले भने।  

होटल संघ गण्डकीका अध्यक्ष हरि शर्मा पनि पर्यटन क्षेत्र अहिले संकटको अवस्थामा पुगेको बताउँछन्। सिजनको मुखमा आइपरेको विपद्ले सबैतिर नोक्सान गरेको भएपनि पर्यटनमा झनै दीर्घकालिन असर पारेको उनले बताए। उनका अनुसार पछिल्लो समय पर्यटन क्षेत्रमा सकसका दिन निम्तिएका छन्। आउने तयारीमा रहेका पर्यटक रोकिएका छन्। धेरैजसो पाहुनाले बुकिङ रद्द गरिसकेका छन।  

‘भारतीय पाहुना त झनै आउने अवस्था नै छैन। बाढीको प्रभाव अत्यधिक र बाटोको प्रभावले पनि पाहुना आउन सकेनन। विदेशी पाहुनाले धमाधम बुकिङ रद्द गरिरहेका छन,’ उनले भने, ‘अहिलेसम्म अक्टोवर र नोभेम्बर बुकिङलाई खासै असर परेको छैन। तर, यही अवस्था हो भने अक्टोवर–नोभेम्बरको पनि प्रभावित हुनेछ। सेप्टेम्बरको बुकिङको अधिकांश हिस्सा रद्द भईसकेको छ। सेप्टेम्बरको बुकिङ यतिबेला ७० प्रतिशत हाराहारीमा पुगिसकेको थियो।’  

पर्यटन बोर्डका सदस्य सन्तोष पोखरेल पनि पर्यटन क्षेत्रमा यो बेला अप्ठ्यारो अवस्था सिर्जना भएको बताउँछन्। ‘चम्किने बेलाको पर्यटन एकाएक सुस्ताउन पुगेको छ। पोखराको पर्यटन यो बेला झन्डै शुन्यको हाराहारीमा छ। अग्रिम बुकिङ पनि रद्द भएको छ,’ उनले भने, ‘यो बेला पदयात्राको समय हो। तर सबैतिर नेपालको यात्रा जोखिममा रहेको सन्देश गएको छ।’ उनका अनुसार यो बेला सबैतिरका पाहुना नेपाल आउने समय हो। अक्टोवर नोभेम्बरमा यूरोपियन पाहुना बढि आउँछन।  

‘सेप्टेम्बरको बुकिङ ७० प्रतिशत उकालो लागिसकेको थियो। तर, अहिले ५ प्रतिशतमा झरेको छ। आन्तरिकका लागि बाटो पनि बन्द छ,’ उनले भने, ‘देशको प्रभावित क्षेत्रबाहेक अन्यत्र सुरक्षित छ भनेर सन्देश दिएर पाहुनालाई घुम्न आउ भनेर बोलाउनुको विकल्प छैन। पर्यटन बोर्डले पाहुनालाई नेपाल घुम्न बोलाउन थालिसकेको छ।’  

प्रकाशित: २२ भाद्र २०८३ १५:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App