३० असार २०८३ मंगलबार
image/svg+xml
समाज

बाँकेमा जम्मा ०.५ प्रतिशत रोपाइँ: किसानलाई सिंचाई र मल, बीउकै चिन्ता

तस्बिर: अर्जुन ओली/नागरिक<br>

समयमा वर्षा नहुँदा बाँके, खजुरा गाउँपालिका–१ राधापुरका किसान पदम मल्लले बडो मुस्किलले धान रोप्न भ्याए।

गाउँमा डिप ट्युबवेल भएपनि लामो खडेरीका कारण सबै किसानले एकैपटक रोपाई गर्न हम्य–हम्य भयो। उनी हरेक वर्ष करिब दुई बिघा जमिनमा धान रोप्छन्।

आफ्नै गाउँमा सोमबार तामझामका साथ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाइरहँदा उनी उत्साहित भन्दा पनि बढी चिन्तित देखिए।

रोपाई महोत्सवमा उपस्थित भएका सम्बद्ध सरोकारवाला माझ उनले किसानका पीडाहरू पोखे।

‘समयमा पानी नपरेका कारण पर्याप्त मात्रामा रोपाई हुन सकेको छैन, केहीले आफ्नो घरमा भएको ट्युबवेलबाट अलि–अलि धान रोप्नु भएको छ,’ मल्लले भने, ‘नेपाल सरकारले हरेक वर्ष राष्ट्रिय धान दिवस मनाउने गरेको छ, तर किसानको वास्तविक पीडालाई सरकारले बुझ्न सकेको छैन।’

किसानले उत्पादन गरेको धानले उचित मूल्य नै पाउन नसकेको उनको दुखेसो छ। ‘समयमा हामीले मल र बीउहरू पाइराखेका छैनौं, सिँचाइको उस्तै समस्या छ, म सरोकारवाला सरहरूलाई ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले थपे।

किसानलाई जहिले पनि सिँचाइ र मल, बीउकै चिन्ता हुने गरेको मल्लले सुनाए। अर्का किसान हस्तबहादुर शाहीले पनि जिल्ला र गाउँपालिबाट आएका कृषि कर्मचारी तथा जनप्रतिनिधिलाई आफ्नो दुखेसो पोखे।

‘किसानले अन्न उत्पादन गरेपछि मात्रै सबैको छाक टर्ने अवस्था छ, तर किसानलाई सबैतिरबाट हेला गरिन्छ, किसानले खेती गरेर बाली नफलाउँदा सम्म कसैको पनि चुलो बल्न सक्दैन,’ उनले भने, ‘तपाईँहरू एक दिन मात्र यहाँ आएर हुँदैन, गाउँमा समय–समयमा आएर किसानका समस्याहरू बुझिदिनुपर्‍यो।’

गाउँका खेतबारीमा जथाभाबी हिसाबले रुख, बिरुवा रोप्ने प्रवृत्ति बढ्दा किसानहरू मर्कामा परेको शाहीले सुनाए। ‘जथाभाबी बिरुवा रोप्न थालिँदा वरिपरिका किसानहरू रोइरहेको अवस्था छ, रुख बिरुवाका कारण उत्पादन हुन छाडिसक्यो,’ उनले भने।

सरकारले किसानलाई समयमै मल, बीउ र सिँचाइको व्यवस्था गरिदिनुपर्ने उनको सुझाव छ। उत्पादन भएका अन्नबालीलाई बाँदर, बँदेल लगायत वन्यजन्तुबाट जोगाउनै समस्या रहेको किसान शाहीले सुनाए।

किसानका गुनासा सुनिसकेपछि खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर बिकले धान दिवस पछिल्लो समयमा संस्कृतिको रुपमा विकसित हुँदै गएको बताए।

गाउँपालिकाले कृषि क्षेत्रलाई नयाँ ढंगले अगाडी बढाउन खोजेको बताउँदै भने, ‘विभिन्न वडामा विषादी रहित तरकारी उत्पादनमा जोड दिएका छौं, खजुराले एउटा अर्ग्यानिक उत्पादनको रुपमा पहिचान बनाएको छ,’ अध्यक्ष बिकले भने, ‘किसानको उत्पादनलाई बजारीकरण गर्नका लागि बिक्री केन्द्र निर्माण गरेर सञ्चालनमा ल्याउँदैछौं, कृषि एम्बुलेन्स पनि छिट्टै खरिद गर्दैछौं।

राष्ट्रिय धान दिवसलाई सोमबार बाँकेका ८ वटै स्थानीय तहले छुट्टा–छुट्टै कार्यक्रम गरेर मनाएका छन्। दिवस मनाउँदै गर्दा जिल्लामा धान रोपाइँको अवस्था भने चिन्ताजनक देखिएको छ।

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख डा. विनोद घिमिरेका अनुसार बाँकेमा सोमबारसम्म शून्य दशमलव ५ प्रतिशत क्षेत्रमा मात्र धान रोपाई भएको छ। गत वर्ष असार १५ सम्म जिल्लामा ११ प्रतिशत धान रोपाई भएको थियो।

‘गत वर्षको तुलनामा यो वर्ष धान रोपाई कम भएको छ, हिजो (आइतबार) मात्रै पानी परेको हुँदा धान रोपाइँको दर अब बढ्न सक्छ,’ उनले भने। कार्यालयका अनुसार बाँकेमा करिब-करिब ३३ हजार ७ सय ८० हेक्टर क्षेत्रमा धान रोपाई गरिन्छ। 

प्रकाशित: १५ असार २०८३ १९:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App