धान काटेर घरमा भण्डारण गर्ने उपयुक्त ठाउँ नभएको भन्दै यहाँका किसानले सस्तो मूल्यमा बिक्री गरिरहेका छन्। तिहारका लागि खर्च व्यवस्थापन गर्नुपर्ने र भण्डारणको समस्या भएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले निर्धारण गरेको मूल्यभन्दा कममा किसानले धान बेचिरहेका हुन्।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष मोटा धानको मूल्य प्रतिक्विन्टल रु तीन हजार ६६० र मध्यम धानको रु तीन हजार ८६० निर्धारण गरेको छ। कम्पनीले निर्धारण गरेको मूल्यभन्दा रु ५०० देखि ६०० सम्म सस्तोमा व्यापारीले धान खरिद गरिरहेको दङ्गीशरण गाउँपालिका–३ रावत गाउँकी किसान माइली चौधरीले बताइन्।
उनले भनिन्, ‘यस वर्ष धान प्रशस्त फलेको छ। खाद्यले उत्पादित धान कहिल्यै खरिद गर्दैन, घरमा भण्डारण गर्ने ठाउँ पनि छैन। तिहारको खर्च जुटाउन पनि गाह्रो भएकाले गाउँका व्यापारीलाई प्रतिक्विन्टल रु तीन हजारका दरले बिक्री गरिरहेका छौँ।’ सरकारले प्रत्येक वर्ष महँगो मूल्यमा धान खरिद गर्छ भन्ने सुने पनि अहिलेसम्म यहाँका कुनै किसानले सो मूल्यमा धान बिक्री नगरेको उनले दाबी गरिन्।
स्थानीय सरकारले चासो नदिँदा आफूहरू व्यापारीलाई सस्तो मूल्यमा धान बेच्न बाध्य भएको सोही गाउँका नवीन अधिकारीले बताए।
‘अर्नब चक्रवातका कारण आफूसहित गाउँका धेरै किसानले बिहीबार रातभरि थ्रेसर उपकरणको प्रयोग गरी धान तयार गरेर खेतबाटै प्रतिक्विन्टल रु तीन हजार १०० का दरले स्थानीय व्यापारीलाई बिक्री गरिरहेका छन्’, उनले भने, “वर्षभरि गरेको मिहिनेतलाई किसानले घाटा खाएर बेच्न बाध्य भएका छौँ।’
अधिकांश मध्यम र निम्नस्तरका किसानले भर्खरै भित्र्याएको धान बिक्री गरेर चाडपर्व मनाउने खर्च जुटाउन सस्तोमा बिक्री गरिरहेको अधिकारीको भनाइ छ। सरकारले धानको समर्थन मूल्य तोके पनि व्यापारीले आफूखुसी मूल्य राखेकाले किसान मर्कामा परेको उनले बताए।
उनका अनुसार दाङको देउखुरी क्षेत्रमा भने अधिकांश किसानले दसैँअघि नै घरमा धान भित्र्याइसकेका छन्। दाङ उपत्यकाका केही किसानले अहिले धान भित्र्याइरहेका छन् भने केहीले काटेर राखेका छन्।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरका निमित्त प्रमुख शक्तिराम डाँगीले केन्द्रबाट धानको मूल्य निर्धारण भए पनि खरिद कोटा अहिलेसम्म नतोकिएको बताए। केन्द्रबाट कोटा निर्धारण भएको पत्र आउनेबित्तिकै खरिद सुरु गर्ने उनले जानकारी दिए।
गतवर्ष देउखुरी क्षेत्रका तीन स्थानीय तहको समन्वयमा धान खरिद गरिएको उनले बताए। कोटा थोरै निर्धारण हुँदा सबै पालिकामा पुग्न नसकिने निमित्त प्रमुख डाँगीको भनाइ छ।
जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा कुल ७४ हजार ३३६ हेक्टर खेतीयोग्य जमिन रहेकामा ३७ हजार २२५ हेक्टर क्षेत्रमा धानखेती गरिएको छ।
यसैबीच, बङ्गालको खाडीमा विकसित अर्नब चक्रवातका कारण जिल्लाको मौसम प्रतिकूल भएपछि खेतमा काटेर राखेको धान नोक्सान हुन सक्ने भन्दै किसानले चिन्ता व्यक्त गरेका छन्। केही दिनदेखि किसानले धान काट्ने र बोकेर सुरक्षित ठाउँमा राख्ने काम गरिरहेका छन्। तर, सबै ठाउँमा यो काम सम्पन्न भएको छैन। जिल्लामा हिजो बिहानैदेखि निरन्तर वर्षा भइरहेको छ।
प्रकाशित: १४ कार्तिक २०८३ १८:०३ शनिबार





