इलाम सूर्योदयका चिया उद्योगीले असार १ देखि उद्योग बन्द गर्ने घोषणा गरेपछि हरियोपत्ती उत्पादक किसान त्रसित भएका छन् । चियामा वर्षभरको मेहनतपछि हरियोपत्ती टिपाइको मुख्य सिजनमै उद्योग बन्द हुने घोषणा गरिएपछि किसान चिन्तित भएका हुन् ।
उद्योग बन्द भए हरियो चिया प्रशोधन हुन पाउँदैन । ७/७ दिनमा हरियो मुना टिप्ने गरिएको छ भने १ दिन ढिलो हुँदासमेत चियाको गुणस्तरमा असर पुग्ने चिया प्राविधिक बताउँछन् । तर, ५३ उद्योग आबद्ध रहेको सूर्योदय अर्थोडक्स टि प्रोड्युसर्स एसोसिएसन नेपालले असार १ देखि अनिश्चितकालका लागि उद्योग बन्दको घोषणा गरेपछिको सोझो असर किसानलाई पुग्ने देखिएको छ ।
एसोसिएसनअन्तर्गतका उद्योगमा २ हजार ९ सय ९५ किसानले दिनहुँ हरियो चियापत्ती ल्याउनेगरेको तथ्यांक छ । उद्योग बन्द भए चिया कहाँ लगेर बेच्ने अन्योल भएको उनीहरूले बताएका छन् । हरियो चियापत्ती बेचेर गुजारा गर्ने किसानलाई उद्योग बन्द घोषणाले झन् ठूलो त्रास सिर्जना भएको छ ।
सूर्योदय नगरपालिका १४, लक्ष्मीपुरका किसान मुकुन्द आचार्यले कुनैपनि सरकारले किसानको गुनासो नसुनिदिएका कारण अहिलेको अवस्था सिर्जना भएको बताए । ‘ठूलो परिमाणको तयारी चिया बेच्ने ठाउँ भारतमात्रै भएको छ, अन्य देशमा विक्री सहज बनाइदिनुपर्छ भनेर हामी किसान र उद्योगीसमेतले पटक–पटक यो सरकार र यसअघिका सबैजसो सरकारलाई काठमाडौं नै पुगेर गुहार मागेका हौं,’ उनले भने, ‘कुनैपनि सरकारले न हरियो चियाको विक्री सहज बनाइदिए, न तयारी चियाको निर्यात नै । त्यसको सबैभन्दा ठूलो असर हामी किसानलाई छ, कसैले बुझिदिँदैन ।’
किसान आचार्यले गाउँका करिब २ सय किसानले सहकारीमार्फत् महिनामा ५० हजार किलोभन्दा धेरै हरियोपत्ती सूर्योदय १३ स्थित लक्ष्मी टि स्टेटमा बेच्नेगरेको बताए । ‘असार १ देखि हुने उद्योग बन्दले किसानको मुटु चिरिएको छ, हरियोपत्ती बेचेर गुजारा गर्ने अधिक किसान छन्, उनीहरूले अब के खाएर पेट पाल्ने भन्ने समस्या आउने देखिएको छ ।’
उद्योगीहरूले समेत पटक–पटक सरकारलाई चिया निर्यात सहज बनाउन माग गरेको तर सरकारले नै समस्या नसुनिदिएको किसान आचार्य बताउँछन् । ‘अहिलेको केसमा उद्योगीलाई पनि दोष दिने ठाउँ छैन, चिया बिकेन भनेर केही दिन ढिलै भएपनि भुक्तानी दिएकै थिए, तयारी चिया नै नबिकेपछि उनीहरूले पनि किसानलाई भुक्तानी दिने अवस्था रहँदैन,’ उनले भने, ‘यो सरासर सरकारले किसानप्रति गरेको उपेक्षा हो । हामीले काठमाडौं धाएर जति चप्पल फटाएपनि सरकारले सुन्दैन, अझ उद्योग पनि बन्द भइदिएपछि आजित भएका छौं हामी ।’
यहाँका प्रायः सबै किसानले मकै, कोदो, अलैंची, धान सबै बाली मासेर चिया खेती गरेका छन् । तर, सबैभन्दा बढी हरियोपत्ती उत्पादन हुने बेलैमा बेच्न नपाएपछि किसानको हातमुख जोर्ने समस्या आउने खतरा रहेको उनको गुनासो छ । ‘चियाले धेरै युवालाई देशमै रोजगारी दिइरहेको छ तर सरकारले प्रोत्साहन नगर्दा उनीहरू निरास भएका छन्,’ किसान आचार्यले सुनाए, ‘यही ताल हो भने हामी किसानले काम गरेर खाने वातावरण कहिल्यै नबन्नेरहेछ ।’
चिया उद्योग बन्द हुँदा किसानमात्र नभई श्रमिक, ढुवानीकर्ता, व्यापारीलगायत सबै क्षेत्रलाई असर पुग्छ । उनीहरूसँग जोडिएका परिवारलाई समेत यसको सोझो प्रभाव पर्छ । सूर्योदय ७, गोगनेका किसान डम्बर कटवालले भारतले विभिन्न बहानामा नेपाली चियामा अवरोध गरिरहेको आफूलाई पनि लागेको बताए ।
‘भारतले पटक–पटक नेपाली चियालाई धोका दिएको छ, हामी किसान र उद्योगीले ध्यानाकर्षण गर्दा सरकारले कहिल्यै वास्ता गर्दैन, न चियाको गुणस्तर बढाउन प्रोत्साहन नै गर्छ,’ उनले भने, ‘असार १ देखि हरियोपत्ती बिकेन भने सयौं किसान, श्रमिक र तिनका परिवार भोकभोकै हुनुपर्ने अवस्था आउनसक्छ ।’ उनले चियाजस्तो संवेदनशील विषयमा तुरुन्त निर्णय लिन र विक्री सहज बनाउन सरकारसँग माग पनि गरे । ‘तयारी चिया भारतमात्रै बेच्ने हो भने सधैं यो समस्या आइरहन्छ,’ उनी भन्छन्, ‘युरोपका बजारमा सहज रूपमा नेपाली चिया जानसक्यो भने मात्रै किसान र श्रमिकले राहत पाउँछन् ।’
मुख्य सिजन र गुणस्तरीय पत्ती उत्पादन हुने बेलैमा भारतीय चिया बोर्डले दर्जनौं मापदण्ड तयार गरी नेपाली चिया आयात अवरोध गरेपछि उद्योगीले चिया बेच्न नपाएको भन्दै उद्योग बन्द घोषणा गरेका हुन् । गुणस्तर जाँच गर्ने बहानामा भारतीय पक्षले तयारी नेपाली चिया बोकेर कोलकाता पुगेका गाडी महिनादिनसम्म अड्काइदिने गरेको उद्योगीको भनाइ छ ।
उद्योगीका अनुसार अहिले नेपाल–भारत सीमा कटेर भारतीय बजारमा पुगेको ३ लाख किलोभन्दा बढी नेपाली चिया गुणस्तर परीक्षणका नाममा उतै अलपत्र छ । यता उद्योगमा प्रशोधन भइसकेको ७ लाख किलोभन्दा धेरै स्टक छ ।
एसोसिएसन अध्यक्ष डिल्ली श्रेष्ठले दिनहुँ चिया प्रशोधन गर्दा उद्योगहरूको भण्डारण नै भरिएर राख्ने ठाउँ पुग्न छाडेको बताए । ‘किसानबाट हरियोपत्ती किनेर प्रशोधन गरिएको तयारी चिया न बिक्छ, न भण्डारण गर्ने ठाउँ नै खाली छ,’ उनले भने, ‘किसानलाई त जसरी पनि मूल्य दिनैपर्छ, त्यसैले बरु उद्योग नै बन्द गर्नुको विकल्प हामीसँग भएन ।’
चैत र वैशाख सबैभन्दा धेरै गुणस्तर र मूल्यको चिया उत्पादन हुने सिजन (फस्र्ट फ्लस) हो । त्यसबाट प्रशोधित उच्च मूल्यको तयारी चिया बेच्ने सिजन यही हो । तर, यहीबेला भारतले गुणस्तर परीक्षणमा निकै झन्झटिलो नियम लागु गरेको उद्योगीले जनाएका छन् ।
१ मे २०२६ मा भारतीय चिया बोर्डले नेपालबाट आयात गरिने चियामा स्टेन्डर्ड अपरेटिङ प्रोसिजर (एसओपी) लागू गरेको छ । यो अवधारणाअनुसार प्रत्येक गाडीमा लगिएको चियाको गुणस्तर परीक्षण अनिवार्य गरिएको छ । एसओपी लागु गरिएपछि यसको रिपोर्ट आउन २० दिनभन्दा बढी लाग्ने, रिपोर्ट नआउञ्जेल बेच्न नपाइने, रिपोर्ट राम्रो आए बेच्न पाउने नत्र त्यही नष्ट गर्नुपर्ने वा फिर्ता ल्याउनुपर्ने बाध्यता नेपाली चियालाई छ । एक पटक नमुना परीक्षणमा फेल भए पुनः ३ साताभन्दा बढी समय गाडी त्यहीं रोकेर, दोस्रो पटक त्यति नै शुल्क लिएरमात्र गुणस्तर परीक्षण गर्नेगरी कडाइ गरिएको उनको भनाइ छ ।
भारतीय बोर्डको अवरोधपछि उद्योगी गत वैशाख २७ मा काठमाडौं नै पुगेर प्रधानमन्त्रीको कार्यालय र परराष्ट्र मन्त्राालयसँग कूटनीतिक पहलका लागि आग्रह गरेका थिए । त्यसपछि भारतीय चिया बोर्डले १९ मे २०२६ मा दोस्रो विज्ञप्ति जारी गरी भारतीय घरेलु बजारमा नेपाली चिया विक्री गर्न पाइने व्यवस्थाको जानकारी गरायो । त्यसपछि केही उद्योगले यहाँको चिया विक्री पनि गरेका थिए । तर, पुनः भारतीय बोर्ड आफैंले १९ मेको विज्ञप्ति आधिकारिक नभएको भन्दै १ मेकै प्रावधानमा कडाइ गरेपनि उद्योगी चिन्तित भएका हुन् ।
‘अब हामीले उत्पादन गरेको चिया कहाँ बेच्ने हो, थाहा छैन,’ अर्का उद्योगी गोपाल कट्टेल भन्छन्, ‘प्रशोधन भएको चियाको बजार बन्द गर्ने प्रयत्न गरिएको छ, भारतले विभिन्न झन्झट दिएर नेपाली चिया रोकिदिएपछि हामी उद्योग बन्द गर्न बाध्य छौं, हाम्रो अर्को विकल्पै छैन ।’ उनले संघीय सरकारले नेपाली चियाको निर्यात समस्या हल गर्नुपर्नेमा उद्योगीको कुरै नसुनेको बताए । ‘हाम्रै सरकारले नेपाली चिया निर्यातमा सहजीकरण गर्न ध्यान दिएन,’ उनले भने, ‘अझै पनि कूटनीतिक पहल गरी अवरोध नखुलाउने हो भने अर्बौंको नेपाली चियाको बजार शून्य हुनेछ ।’
अवरोध खुलाउन सांसद नेम्बाङको माग
इलाम क्षेत्र २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङले नेपाली चिया निर्यातमा उत्पन्न गम्भीर अवरोध तत्काल समाधान गर्न माग गरेका छन् । ‘प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालय, उद्योग–वाणिज्य मन्त्रालय, कृषि मन्त्रालय र नयाँदिल्लीस्थित नेपाली दूतावासले तत्काल उच्चस्तरीय कूटनीतिक पहल गरी रोकिएको चिया बिक्री तथा निकासी खुलाउनुपर्छ,’ उनले भनेका छन्, ‘हाल भारतीय गोदाममा रोकिएका गाडी प्राथमिकताका साथ परीक्षण गरी तत्काल बिक्री अनुमति दिने र अनावश्यक गोदाम, ढुवानी तथा विलम्ब खर्चबाट उद्योगीलाई जोगाउने व्यवस्था गरिनुपर्छ ।’
नेम्बाङले नेपालका मान्यताप्राप्त प्रयोगशालाको प्रमाणपत्रलाई भारतले स्वीकार गर्नेगरी पारस्परिक मान्यता, संयुक्त परीक्षण प्रोटोकल, अनलाइन ट्र्याकिङ र निश्चित समयसीमा कायम गरिनुपर्ने जनाएका छन् । उद्योग सञ्चालन र किसानको हरियो पत्ती खरिद निरन्तर राख्न प्रभावित उद्योगलाई आकस्मिक सहुलियतपूर्ण चालु पुँजी, ब्याज राहत, भण्डारण सुविधा तथा किसानको भुक्तानी सुनिश्चित गर्ने व्यवस्था गरिनुपर्ने नेम्बाङको भनाइ छ ।
उनले पूर्वी नेपालमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त चिया परीक्षण प्रयोगशाला स्थापना, नेपाली चियाको पहिचान र ट्रेसबिलिटी विकास तथा चीन, मध्यपूर्व, युरोप, पाकिस्तानलगायत वैकल्पिक बजार विस्तारलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउन पनि सुझाएका छन् ।
‘वर्षभरि मलजल गरेको, असिनापानी र घाम सहेर जोगाएको उत्पादन टिप्ने बेला बजार बन्द भएको छ,’ नेम्बाङले भनेका छन्, ‘इलामका किसानका लागि चिया केवल एउटा बालीमात्र होइन, जीवन हो । यही चियाबाट घरको चुलो बल्छ, छोराछोरीको पढाइ चल्छ, बिरामी पर्दा उपचार हुन्छ, बैंक तथा सहकारीको किस्ता तिरिन्छ र परिवारले भविष्यको आशा बाँच्छ,’ उनी भन्छन्, ‘त्यसैले चियाको बजार अवरुद्ध हुँदा किसानको आम्दानीमात्र रोकिन्न, उसको सम्पूर्ण जीवनचक्र नै संकटमा पर्छ ।’
सूर्योदय नगरको ३३ हजार ६ सय ५५ रोपनीमा भइरहेको चिया खेतीबाट वार्षिक २ करोड किलो हरियोपत्ती उत्पादन हुनेगरेको छ ।
सांसद राईले प्रतिनिधिसभामै उठाए चियाको समस्या
इलाम क्षेत्र १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य निस्कल राईले चिया उद्योगी र किसानको कुरा सरकारले नसुनेकाले उनीहरू आन्दोलनका लागि काठमाडौं आउने तयारी गरिरहेको प्रतिनिसभा बैठकमै सुनाए । ‘सरकार र सरकार (जिटुजी)मार्फत् यो समस्याको तुरुन्त समाधान हुनपर्छ,’ उनले भने, ‘तेस्रो मुलुकमा चिया व्यापारमा चासो दिन सरकारसँग मेरो माग छ ।’
प्रकाशित: ३१ जेष्ठ २०८३ १६:३९ आइतबार





