१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

किसानलाई बाँदरबाट बाली जोगाउनै मुस्किल

बाँदरबाट बँचाउन गाह्रो भइरहेको प्रेमबहादुर राईको मकै खेती । तस्विरः महेश्वर

लिमचुङबुङ ५ जाँते टोड्केका प्रेमबहादुर राई बिहान झिसमिसेमै ओछ्यान छाडेर सोझै बारी छेउ पुग्छन् । हाहाहुहु गर्दै बाँसको भाटा (बाँदर धपाउन बनाइएको आवाज आउने घरेलु उपकरण) ठटाउँदा ठटाउँदै उनको खाना खाने बेला हुन्छ ।

श्रीमती फुलसरी आएर पालो दिन्छिन् अनि मात्र उनलाई खाना खान घर जाने फुर्सद मिल्छ । हतार हतार खाना खानेवित्तिकै उनी फेरि बारीमै पुग्छन्, ताकि अन्य काम गर्न श्रीमतीलाई पालो दिन सकियोस् ।

यसरी बिहान झिसमिसेदेखि सुरु हुने राईको बाँदर रुङ्ने ड्युटी राति ८/९ बजेसम्म जारी रहन्छ । घर फर्कनुअघि उनले ठूलो आवाजले कराउँदै ढुङ्गा लडाएर तलतलसम्म बाँदर धपाउँछन् । बाँदर बास बसिसकेपछि मात्र घर उनी घर फर्कन्छन्, यसो नगरे राति नै बाँदर फर्केर बाली सखाप पार्ने चिन्ता उनलाई छ ।

यो समस्या राईको मात्र होइन, टोड्केकै टेकबहादुर खड्का, नारद दियाली, मेगबहादुर कार्की, भुपाल खड्का र बुद्धिमान कार्कीलगायतको पनि हालत उस्तै छ । टोड्के मात्र किन, चौलाने,खोस्टुङ, हिम्मा, धुकुरथुम, सल्लेहरी, मिनासिका, भार्के, सापला, मतर्ला, खोर्ला, दङ्गला सबैतिर अहिले बाँदर नरुङे मकै बाली पाक्न नपाई बाँदरले स्वाहा पार्छ ।

यति गर्दागर्दै पनि बाँदरले कतिपय किसानको मकै ध्वस्त पारिसकेको छ । खोस्टुङका नइन्द्र राईको १ रोपनी जमिनको मकै केही दिनअघि बाँदरले खाइदियो । बिहानै बाँदर धपाउन गएका उनी मध्यान्ह खाना खान घर आएका बेला एक हुल बाँदर आएर सबै मकै खाइदिएको उनले सुनाए । ‘एकाबिहानै बाँदर रुङ्न जाने गर्छु, तर खाएरै छाड्यो’ उनले घटना सुनाए ‘११ बजेतिर खाना खान घर आएर एक घण्टापछि जाँदा त १५/२० बाँदरको हुल आएर २ गरा बारीको मकै स्वाहा पारिसकेछन् ।’

बिहान उज्यालो नहुँदै बारी छिरेपछि राति अबेर बाँदर बास बसेपछि मात्र घर फर्कनुपर्ने बाध्यता उनीहरुलाई छ । जाँतेकै चौलानेका गुणराज बुढाथोकीलाई पनि बाँदरले हैरान पार्दै आएको छ ।

यस वर्ष साउन आधा हुँदासम्म किसानका मकै पाक्न बाँकी नै छ । समयमा वर्षा नहुँदा मकै बाली लगाउनै ढिला भएकाले पाक्न पनि समय लागेको किसान बताउँछन् । विगत वर्षहरूमा यो बेलासम्म मकै भित्र्याउने चटारो हुन्थ्यो । तर, यसपालि पानी ढिला परेकाले छौ मकै भर्खर घोगाको जुँगा मर्ने क्रममा छ । यसो भएकाले पुरै भदौभर किसानले बाँदरबाट मकै बँचाउन मेहनत गर्नै पर्ने छ ।

बाँदरको समस्या यहाँ मात्र होइन, पुरै पहाडी भेगमा रहेको स्थानीयले बताएका छन् । वडाध्यक्ष कविचन्द्र राईका अनुसार बाँदरले नसताएको ठाउँ छैन । बसाई सराई र वैदेशिक रोजगारीले गाउँमा मान्छे पातलिएसँगै बाँदरको राज बढेको उनले बताए । ‘यहाँ मात्र होइन बाँदरको समस्या, जताततै उस्तै हो’ वडाध्यक्ष राईले भने ‘हाम्रो वडा मात्र पनि होइन, पुरै पहाडी भेगमा बाँदरको समस्या उस्तै छ ।' मान्छे पातलिएसँगै जमिन बाँझो भएर जङ्गलका परिणत भएपछि बाँदरको अचाक्ली भएको उनले बताए ।

उसो त बाँदर मात्र होइन, जङ्गली जनावरको पनि बिगबिगी बढेको किसान बताउँछन् । सापलाका टेकबहादुर कार्कीका अनुसार अहिले घर छेउछाउसम्म मृग, दुम्सी, स्याल र बाघ आउने गरेका छन् । मृग र दुम्सीले बालीनाली खाने गरेका छन् भने बाघले बाख्रा, कुकुर मार्ने, गाई भैँसीमाथि आक्रमण गर्ने गरेको कार्कीले बताए ।

वन्यजन्तुबाट बच्न किसानले सरकारसँग हारगुहार गरिरहेका छन् तर, सरकारले यसबारे कुनै दिगो उपाय नखुट्याएको किसानको गुनासो छ । पीडित प्रेमबहादुर राई बाँदरलाई मार्न नपाउने भएपछि खोर बनाएर थुन्नुपर्ने उपाय सुझाउँछन्। पहिलो पासो लगाएर थुन्ने अनि बालीनाली उकेरेपछि खोलेर लखेट्दा केही राहत हुने उनको सुझाव छ ।  

बाँदर लगायत वन्यजन्तु मार्न पनि निषेध गरिएकाले बचाउको दिगो उपाय सरकारले पहिल्याएर किसानलाई राहत दिनुपर्ने अर्का किसान बौवा विश्वकर्माको माग छ । मार्न पनि नपाइने, बालीनाली बचाउन नसक्ने भएपछि कि सरकारले उपाय सुझाउनु पर्छ, होइन भने बसाई सर्नुको विकल्प नभएको उनी बताउँछन् ।

‘धेरैजसो मान्छे बसाई सर्नुको मुख्य कारण बाँदर आतङ्क पनि भएको स्थानीयको भनाई छ । वर्ष भरी खानका लागि भनेर लगाएको कमाई दुःख गरेर पाक्ने बेलामा बाँदरले खाइदिएपछि के खाएर बस्ने ?’ स्थानीयको दुःखेसो छ ‘खानै नपाउने भएपछि बसाई नसर्नुको अर्को उपाय नै छैन ।’

वडाध्यक्ष राईले जताततै बाँदर आतङ्क र अन्य वन्यजन्तुको पनि बिगबिगी बढेको भए पनि नियन्त्रण कसरी गर्ने भन्नेबारे दिगो उपाय अहिलेसम्म फेला नपरेको बताए । वर्षेनी यस विषयमा छलफल हुने गरेको तर, कुनै पनि दिगो र भरपर्दो उपाय अहिलेसम्म नखुट्याइएको उनले बताए ।

गाउँपालिका उपाध्यक्ष पुष्पलाल राईले बाँदर आतङ्कको समस्या स्वीकारे । उनका अनुसार गाउँपालिकाका ५ वटै वडाका किसानलाई बाँदरले वर्ष भरी दुःख दिने गरेको बताउँदै उनले बाँदर र अन्य वन्यजन्तुबाट दिगो समाधान पहिल्याउन स्थानीय सरकारले पहल गरिरहेको बताए । आगामी वर्षको नीति कार्यक्रममा यसबारे ठोस् कदम चालेर किसानलाई राहत दिलाउने प्रतिबद्धता उनले जनाए ।  

प्रकाशित: १४ श्रावण २०८२ १४:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App