२३ असार २०८३ मंगलबार
image/svg+xml
समाज

नक्कली भुटानी शरणार्थी प्रकरण: केही दोषी ठहर

बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा जिल्ला अदालत काठमाडौंले मङ्गलबार फैसला सुनाएको छ।

न्यायाधीश तेजबहादुर खड्काको इजलासले मुद्दाको फैसला गर्दै केही आरोपितलाई दोषी ठहर गरेको छ भने केहीलाई सफाइ दिएको छ।

अदालतले कसुर ठहर गरे पनि दोषी प्रमाणित भएका प्रतिवादीहरूको हकमा तत्काल सजाय तोकेको छैन। तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा दोषी ठहर भएकाहरूको हकमा सजाय निर्धारणका लागि छुट्टै प्रतिवेदनसहित पुनः सुनुवाइ गर्नुपर्ने कानुनी व्यवस्था भएकाले अदालतले सोका लागि आदेश दिएको हो।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहको पर्दाफास भएपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले २०८० सालमा ३० जनाविरुद्ध मुद्दा दायर गरेको थियो। 

यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँड र पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायत हाइप्रोफाइल व्यक्तिहरू प्रतिवादी छन्।

फैसलाको संक्षिप्त आदेश तयार हुने क्रममा रहेकाले कुन–कुन प्रतिवादी दोषी ठहरिए र कसले सफाइ पाए भन्ने विस्तृत विवरण सार्वजनिक भइसकेको छैन।

यस प्रकरणमा मुख्य बिचौलियाद्वय केशव दुलाल, उनकी पत्नी दीपा हुमागाईं, अर्का बिचौलिया सानु भण्डारी र सन्देश शर्मा, साथै गिरोहको नेटवर्कमा रहेर काम गर्ने टंककुमार गुरुङ, मोहनराज राई, निरञ्जनकुमार खरेल, केशव तुलाधर, बिचौलिया हरिभक्त महर्जन, उनकी पत्नी लक्ष्मी महर्जन, राजेश अर्याल, विनिता सावदेन लिम्बु, सागर राई, आशिष बुढाथोकी, सुनिल बुढाथोकी, रामशरण केसी, अशोक पोखरेल, गोविन्दकुमार चौधरी, धिरेन राई, बेचन झा र भुटानी शरणार्थी नेता टेकनाथ रिजालविरुद्ध पनि यही कसुरमा मुद्दा दायर भएको थियो।

प्रकाशित: २३ असार २०८३ २०:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App