१५ श्रावण २०८३ शुक्रबार
image/svg+xml
समाज

तराईमा अत्यधिक गर्मी, काठमाडौंको तापक्रम पनि बढ्दो

देशका अधिकांश भूभागमा पछिल्ला दिन गर्मी उल्लेख्य रूपमा बढेको छ । केही स्थानमा बेलाबखत वर्षा भइरहे पनि विशेषगरी पश्चिम तराई क्षेत्रमा अत्यधिक गर्मी महसुस गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकामा पनि तापक्रम क्रमशः बढिरहेको छ । शनिबार काठमाडौंको अधिकतम तापक्रम ३०.७ डिग्री सेल्सियस मापन गरिएको छ । शुक्रबार यो ३० डिग्री र बिहीबार २८.८ डिग्री सेल्सियस रहेको थियो ।

महाशाखाका अनुसार काठमाडौंमा हालसम्मकै उच्च तापक्रम सन् १९८९ मे ७ मा ३६.६ डिग्री सेल्सियस मापन गरिएको थियो ।

शनिबार सार्वजनिक गरिएको देशका २१ स्थानको तापक्रम विवरणमध्ये नेपालगन्ज सबैभन्दा तातो स्थान बनेको छ । त्यहाँ अधिकतम तापक्रम ४०.५ डिग्री सेल्सियस पुगेको छ । शुक्रबार नेपालगन्जको तापक्रम ३८.८ डिग्री थियो भने बिहीबार ४१.५ डिग्री मापन गरिएको थियो ।

त्यस्तै भैरहवामा ३९.८, धनगढीमा ३९.६, दिपायलमा ३९.२, सिमरामा ३७.७, घोराहीमा ३६.४ र जनकपुरमा ३६.१ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ ।

नेपालमा हालसम्मकै उच्च तापक्रम भने सन् १९९५ जुन ५ मा धनगढीमा ४६.४ डिग्री सेल्सियस मापन गरिएको तथ्यांक रहेको छ ।

महाशाखाले विशेष बुलेटिन जारी गर्दै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तीन दिनसम्म मध्यम तातो लहरको सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको थियो ।

यता, देशभर सामान्यदेखि आंशिक बदलीको अवस्था रहेको छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यूनचापीय क्षेत्रको संयुक्त प्रभाव सक्रिय रहेको छ ।

प्रकाशित: ९ जेष्ठ २०८३ २०:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App