जिल्लामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएपछि दाङसहित छिमेकी पहाडी जिल्लाहरू सल्यान, रोल्पा, प्युठानवासीहरूको समेत भरपर्दो उपचार केन्द्र बन्ने विश्वास गरियो, तर प्रतिष्ठानको नेतृत्वलाई आफूअनुकूल बनाउने राजनीतिक प्रतिस्पर्धाका कारण प्रतिष्ठानको गुणगान गाउने र गाली गर्नेहरू दुई कित्तामा विभाजित हुँदै गए।
प्रतिष्ठानको नेतृत्वमा बसेकाहरू पनि निजी लाभका निम्ति कुन दलको फेरो समात्ने भन्ने ध्याउन्नमै देखिए। प्रतिष्ठानको नेतृत्व र प्रतिष्ठानमाथि हाबी हुन खोज्ने दलहरूको दलीय स्वार्थका कारण प्रतिष्ठानको गति उँभो लाग्न सकेन। आम नागरिकले भरपर्दो स्वास्थ्यलाभ पाउन नसकेको गुनासो बढ्दै जान थाल्यो।
त्यसो त, प्रतिष्ठानको नेतृत्वले पनि आफूअनुकुलका राजनीतिक दलका व्यक्तिहरूलाई समातेर अनियमित तवरका निर्णय गर्न थाल्यो। योग्यता नपुगेकाहरूलाई विभिन्न पदमा विराजमान गराएर प्रतिष्ठानको नीति र नियमको धज्जी उडाउने काम नेतृत्व तहबाट भयो। यसले प्रतिष्ठानप्रतिको आमजनमानसको विश्वास डगमगायो। यति मात्रै हैन, प्रतिष्ठानका विभिन्न उपचार मेसिन खरिद प्रकरणमा अनियमितता भएको भन्दै व्यापक रूपमा आलोचना पनि भयो, तर प्रतिष्ठानले यसलाई ढाकछोप गरेर एकपछि अर्को नयाँ उपचार सेवा विस्तार गरिरहेको रटान लगाइरह्यो।
तर प्रतिष्ठानले अनियमितताको ‘आहाल’ बाट आफूलाई चोखो देखाउन खोजिरह्यो। यसको पुष्टि केही समयअघि मात्रै तत्कालीन उपकुलपति डा. संगीता भण्डारीसहित जम्बो टोलीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दाले गरिदियो। प्रतिष्ठानको एमआरआई मेसिन खरिदमा गरिएको १२ करोड रुपैयाँ घोटालामा तत्कालीन उपकुलपति डा. सहित एक दर्जन कर्मचारी मुछिए।
आर्थिक लाभका निम्ति कम गुणस्तरको यो मेसिन खरिद गरेर प्रतिष्ठानको स्वास्थ्य सेवामाथि हेलचेक्र्याइँ गरेको तत्कालीन नेतृत्वका कारण प्रतिष्ठानप्रति आमनागरिकको दृष्टिकोण झनै नकारात्मक बनिदियो। ‘स्वास्थ्यजस्तो क्षेत्रमा यसरी करोडौं घोटाला गर्ने नेतृत्वका कारण कसरी आमनागरिकले भरपर्दो उपचार पाउँछन् भनेर विश्वास गर्नु ?’, एक नागरिक भन्छन्, ‘प्रतिष्ठान जिल्लामा छ, राम्रो उपचार पाइन्छ भनेर ढुक्क हुनु त सरासर गलत रहेछ। यो त खाने ठाउँका रूपमा पो ल्याइएको रहेछ।’
तत्कालीन उपकुलपति डा. भण्डारीलाई आफूअनुकुल चलेको, आर्थिक अनियमितता गरेको भनेर गरिएको चर्को आलोचना अख्तियारको मुद्दाले पुष्टि गरिदिएको छ, तर उनको कार्यकाल पूरा भएपछि प्रतिष्ठानमा नयाँ भर्ती भएका नयाँ पात्रको विश्वास दंगालीहरूले बेस्सरी गरे। दाङकै स्थानीय वासिन्दासमेत रहेका डा. विकास लामिछाने नयाँ उपकुलपतिका रूपमा प्रतिष्ठानमा भर्ती भएपछि प्रतिष्ठानको हितका लागि उनले ठुलो भूमिका खेल्ने अनुमान बेस्सरी गरिएको थियो, तर उनी पनि झूटको मक्सदसहित प्रतिष्ठान भित्रिएको पुष्टि केही समयअघि मात्रै भयो।
उनले आफ्नो कार्यकाल झन्डै ६ महिना बाँकी रहँदा केही दिनअघि मात्रै उपकुलपति पदबाट राजीनामा दिएका छन्। उनको राजीनामाको प्रमुख कारण पनि उनीविरुद्ध अख्तियारमा परेको उजुरी नै रहेको प्रतिष्ठान स्रोतको दाबी छ। अख्तियारमा उनीविरुद्ध प्रतिष्ठानको उपकुलपति बन्न शैक्षिक योग्यता नपुगेको भनेर उजुरी परेको थियो। अख्तियारले यो उजुरीलाई केही समयदेखि हेरिरहेको थियो। प्रतिष्ठानको नियमावलीअनुसार शैक्षिक योग्यता नपुगेका उपकुलपति डा. लामिछानेले गलत बाटोबाट प्रतिष्ठानको नियुक्ति लिएको आरोपसहित उजुरी परेको थियो।
स्रोतका अनुसार अख्तियारमा परेको यो उजुरी प्रमाणित भएपछि उपकुलपति लामिछानेले चोखो बन्नका लागि पहिल्यै राजीनामा दिएका हुन्। ‘अख्तियारले हेरिरहेको मुद्दा प्रमाणित भएपछि आफू चोखो बन्नका लागि पहिल्यै राजीनामा दिएका हुन्’, प्रतिष्ठान स्रोत भन्छ, ‘अरू कारण केही पनि हैन।’ उनीविरुद्ध परेको उजुरीमा दाबी गरिएअनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको नियमावलीले तोकेको योग्यता लामिछानेको पुग्दैनथ्यो। प्रतिष्ठानको नियमावलीअनुसार ‘मान्यताप्राप्त शिक्षण संस्थाबाट चिकित्साशास्त्र विषयमा कम्तीमा स्नातकोत्तर (एमडी, एमएस, पिएचडी) उपाधि प्राप्त गरी प्राध्यापक पदमा नियुक्त भई कम्तीमा पाँच वर्ष अनुभव हासिल गरेको व्यक्ति उपकुलपति नियुक्त हुनेछ’ भन्ने स्पष्ट व्यवस्था छ।
लामिछाने एमडी, एमएस, पिएचडी उपाधि हासिल नभई त्रिवि शिक्षण अस्पतालमा एमबिबिएस अध्ययनपछि अमेरिका जोहन अप्किन्स युनिभर्सिटीमा एघार महिने एमपिएच तालिम मात्रै लिएको देखिएको छ, तर एमपिएच तालिम लिएपछि कम्तीमा तीन वर्ष अध्ययन गरेर मात्रै पिएचडी उपाधिको मान्यता हुने स्पष्ट व्यवस्था छ। लामिछानेले पिएचडी उपाधि हासिल गर्न कम्तीमा तीन वर्ष थप अध्ययन गर्नुपर्ने दाबी उजुरीमा गरिएको थियो। यसर्थ उनी अहिले (एमडी, एमएस, पिएचडी) उपाधि पाइसकेका व्यक्ति नभएकाले उनी उपकुलपति बन्न अयोग्य रहेको दाबीसहित अख्तियारमा उजुरी परेको थियो।
प्रतिष्ठानको पहिलो कार्यकालको नेतृत्वमाथि दाबी गरिएको गल्ती सच्याएर प्रतिष्ठानलाई अब्बल उपचार केन्द्रका रूपमा लैजान सक्ने गरी गरिएको दोस्रो कार्यकालको नेतृत्वले पनि प्रतिष्ठानलाई अनियमितताको आहालबाट बाहिर निकाल्न सकेन। अझ नियुक्ति हुँदा नै फर्जी कागजात पेस गरेको झुटको कुकृत्यले प्रतिष्ठानलाई थप अविश्वासको खाडलमा फसाइदियो।
स्थापनाको हालसम्म दुई नेतृत्वले प्रतिष्ठानको बागडोर सम्हाल्ने अवसर पाए। तर यी दुवै नेतृत्व प्रतिष्ठानका लागि अहितकर प्रमाणित भइदिए। यसो हुँदा प्रतिष्ठानको साख र गरिमा आमनागरिकको नजरबाट थप गिरेको छ। हालका उपकुलपति डा. लामिछानेले राजीनामा दिएपछि अबको नेतृत्व कस्तो भित्रिएला ? चासो प्रकट भइरहेको छ। हाल प्रतिष्ठाको नेतृत्वका निमित्त उपकुलपतिका रूपमा रजिस्ट्रार श्याम लम्सालले सम्हालेका छन्।
प्रकाशित: १८ कार्तिक २०८२ ०८:५४ मंगलबार





