१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

सर्लाही र रौतहटमा धमाधम पक्राउ पर्दै फरार कैदी

जेन–जी  आन्दोलनको क्रममा कारागारबाट भागेका कैदीलाई सर्लाही र रौतहट प्रहरीले धमाधम पक्राउ गरेका छन्। नख्खु कारागार काठमाडौं र गौर कारागार रौतहटबाट फरार भएका कैदीलाई सर्लाही र रौतहट प्रहरीले धमाधम पक्राउ गरिरहेका छन्। 

गत भदौ २४ गते जेन–जी  आन्दोलनको मौकामा नख्खु कारागारबाट भागेका कर्तव्य ज्यान मुद्दामा सजाय ठहरेका सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर ७ का ३० वर्षीय फिरोज मन्सुरलाई प्रहरीले नियन्त्रणमा लिएको बताए। 

काठमाडौं कारागारबाट भागेर मलंगवा स्थित घरमा बसिरहेको गोप्य सूचनाको आधारमा सोमबार साँझ मन्सुरलाई नियन्त्रणमा लिएको सर्लाही प्रहरी प्रवक्ता डिएसपी सरोज राईले बताए। मन्सुरलाई सर्लाही प्रहरीको हिरासतमा राखी आवश्यक प्रक्रिया पश्चात् कारागार पठाउने डिएसपी राईले बताए।

यता जेन–जी आन्दोलनको मौकाको फाइदा उठाउँदै भदौ २४ गते रौतहटको सदरमुकाम गौर कारागार फुटाएर २६४ जना कैदी फरार भएका थिए। गौर कारागारमा २९१ जना कैदी मध्ये २७ जना कारागारमै बसे, बाँकी कैदी भाग्ने क्रममा प्रहरीले सोही राति ३४ जनालाई नियन्त्रणमा लिएका थिए। जेन–जी  आन्दोलनको असर कम भएर जनजीवन सामान्य बन्दै गएपछि रौतहट प्रहरीले कैदी समात्ने अभियान नै सञ्चालन गरेका छन्।

कारागारबाट भागेका कैदीलाई नेपाल प्रहरी र भारतीय प्रहरीको सहयोगमा विभिन्न समयमा नियन्त्रणमा लिएको र कतिपय आफैं कारागारमा उपस्थित भएर अहिलेसम्म १०६ जना गौर कारागारको नियन्त्रणमा रहेको जेलर मनीष झाले बताए।

गौर कारागारका १८५ जना अझै फरार छन्। उनीहरूको घर ठेगानामा प्रहरीले निगरानी बढाएको रौतहटका प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीले बताए।

प्रकाशित: ३१ भाद्र २०८२ ०९:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App