१८ आश्विन २०८३ आइतबार
image/svg+xml
समाज

जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेर फेरि अपराध

जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएकाहरू अर्को अपराधमा संलग्न भएको पनि पाइएको छ।

हत्या अभियोगमा अदालतले २५ वर्ष कैद सजाय तोकेपछि जिल्ला कारगार दाङमा सजाय भोगिरहेका खिबहादुर विक पनि भदौ २४ गते फरार भए। कारागारबाट भागेको एक महिना पनि नपुग्दै अर्थात् असोज ११ गते उनले तुलसीपुरकै एक जनामाथि धारिलो हतियार प्रहार गरे।

लागुऔषध कारोबार मुद्दामा नक्खु कारागारमा सजाय भुक्तान गरिरहेका आकाश मगर पनि भदौ २४ मा भागे। भागेपछि उनले पहिलाको भन्दा ठुलो अपराध गरे। उनले भागेको करिब तीन सातामै अर्थात् असोज १३ गते काठमाडौंको ठमेलमा खुकुरी प्रहार गरी मकवानपुरका सुरज तामाङको हत्या गरे। अहिले उनी लागुऔषध र हत्या मुद्दामा सजाय भोगिरहेका छन्।

कारागारबाट फरार भएका काभ्रे पनौतीका सन्तबहादुर तामाङले पनौतीस्थित घरमै पुगेर पत्नीको हत्या गरे। उनी बलात्कार मुद्दामा सजाय भुक्तान गरिरहेका बेला नख्खु कारागारबाट भागेका थिए। सिआइबीले एक वर्षमा कारागारबाट भागेका ३७ जना कैदीलाई पक्राउ गरेको छ। तीमध्ये अधिकांश जघन्य अपराधमा संलग्न छन्।

सिआइबीका प्रवक्ता तथा एसएसपी अनुपमशमशेर जबराका अनुसार भदौ २४ गते कारागारबाट फरार कैदीबन्दीको खोजीका लागि विषेश कारबाही चलिरहेको छ। प्रहरीले गम्भीर अपराध र पटकपटक अपराधमा संलग्नहरूलाई पहिलो प्राथमिकतामा राखेर खोजिरहेको छ। ‘फरार कैदीबन्दी पक्राउ गर्ने प्रहरीलाई कार्यसम्पादन मूल्याँकनमा राम्रो अंक दिने भनेका छौं। फरार कैदीबन्दीको खोजी हाम्रो प्राथमिकता हो,’ एसएसपी जबराले भने।

कारागार व्यवस्था विभागले फरार कैदीबन्दीको विवरणसहितको सूची प्रहरीदेखि विभिन्न कार्यालयमा पठाएको छ। अघिल्लो वर्षको असोज मसान्तसम्म आफैं फर्किने कैदीबन्दीहरूलाई कुनै सजाय नहुने सुविधा दिइएको थियो तर अहिलेसम्म फर्के नआउनेका लागि थप सजाय सिफारिस गर्न सकिने विभागका निर्देशक चोमेन्द्र न्यौपानेले बताए।

जेनजी आन्दोलनका क्रममा ठुलो संख्यामा कैदीबन्दी भागेपछि त्यसभन्दाअघि प्रहरी रिपोर्ट नमाग्ने देशहरूले अहिले माग्न थालेका छन्। सामान्य घुम्न जाँदा पनि धेरै देशमा प्रहरी रिपोर्ट चाहिन्छ। कारागारबाट भाग्न खोज्ने क्रममा १० जनाको मृत्यु भएको थियो।

यो पनि पढ्नुहोस्

जेन-जी आन्दाेलन: कहाँ छन् ३७ सय भगौडा कैदी?

प्रकाशित: १७ आश्विन २०८३ ०६:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App