१२ आश्विन २०८३ सोमबार
image/svg+xml
समाज

टिमुरेको टावरमा सोलार, टर्‍यो हेलिकप्टरबाट डिजेल ओसार्ने झन्झट

बाढीका कारण विद्युत आपूर्ति ठप्प भएपछि हेलिकप्टरबाट डिजेल ढुवानी गरेर चलाइँदै आएको रसुवाको टिमुरेस्थित नेपाल टेलिकमको टावरमा सोलार प्रणाली जडान गरिएको छ।

नेपाल विद्युत् प्राधिकरणको लाइन लामो समयसम्म नआउने भएपछि सीमावर्ती टिमुरेको टेलिफोन सेवा निरन्तर राख्न टेलिकमले १२ किलोवाट क्षमताको सोलार प्रणाली सञ्चालनमा ल्याएको हो।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले विद्युत् संरचना बगाएपछि टिमुरेको टेलिफोन टावर डिजेल जेनेरेटरमार्फत चलाइँदै आइएको थियो। सडक सम्पर्क टुटेका कारण टावर चलाउन आवश्यक डिजेलसमेत हेलिकप्टरबाटै ढुवानी गर्नुपर्ने चरम बाध्यता थियो। सोलार प्रणाली सुरु भएसँगै अब नियमित डिजेल ओसार्नुपर्ने झन्झट हटेको छ।

नेपाल टेलिकमले टिमुरे-खैदीमा आवश्यक प्राविधिक उपकरण तथा सामग्री हेलिकप्टरमार्फत ढुवानी गरेर १२ किलोवाटको सोलार सिस्टम जडान गरेको जनाएको छ। अब राष्ट्रिय प्रसारण लाइनको बिजुली नहुँदा पनि यस क्षेत्रमा टेलिकमको टुजी तथा फोरजी सेवा चौबीसै घण्टा निर्वाध चल्नेछ।

भोटेकोशीको बाढीले रसुवासहितका क्षेत्रमा दूरसञ्चारका भौतिक पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको थियो। टिमुरेमा बिजुली नहुँदा वैकल्पिक ऊर्जाको अभावमा सेवा नै बन्द हुने जोखिम बढेको थियो।

सोलार प्रणालीमार्फत ऊर्जाको दिगो विकल्प तयार भएपछि टेलिफोन र मोबाइल इन्टरनेट सेवा भरपर्दो बनेको छ। यसबाट उत्तरी सीमावर्ती क्षेत्रका स्थानीय बासिन्दा, व्यापारी, सुरक्षाकर्मी तथा यात्रुहरूलाई सञ्चार सम्पर्क कायम राख्न सहज भएको नेपाल टेलिकमले जनाएको छ।

प्रकाशित: १२ आश्विन २०८३ २०:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App