२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

सर्पले डसेर घाइते वृद्धाको उपचारका क्रममा निधन

सांकेतिक तस्बिर

सर्पले डसेर बिरामी उदयपुरकी एक वृद्धाको निधन भएको छ। गत साउन २५ गते सर्पले डसेर घाइते भएकी उदयपुरको चौदण्डीगढी नगरपालिका-७ की ७५ वर्षीया भगवति बञ्जराको उपचारका क्रममा सोमबार निधन भएको हो।

इलाका प्रहरी कार्यालय बेलटारका अनुसार साँझमा आँगन सरसफाइ गर्ने क्रममा उनलाई सर्पले डसेर घाइते बनाएको थियो। तत्काल उपचारार्थ चौदण्डीगढी नगर अस्पताल लगिए पनि त्यहाँ सम्भव नभएपछि उनलाई त्रियुगा नगरापलिका-३ भुल्केस्थित नेपाली सेनाको १८ नं. बाहिनी अड्डाको सामुदायिक सर्पदंश उपचार केन्द्र ल्याइएको थियो।

तर, त्यहाँ पनि उपचार नभएपछि जिल्ला अस्पताल गाईघाट ल्याइएकोमा घट्ना पुरानो भइसकेकाले आईसियुमा राख्नुपर्ने भन्दै बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रिफर गरेको थियो। धरानमा उपचारकै क्रममा वृद्धाको निधन भएको आफन्तलाई उद्धृत गर्दै इप्रका प्रमुख प्रहरी निरीक्षक बबिन राईले बताए।

चौदण्डीगढी नगर अस्पतालमा सर्पदंशको छुट्टै उपचार केन्द्र स्थापना गरिए पनि दक्ष जनशक्ति अभावमा बिरामीले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था भएको भन्दै नगरवासीले दुःख व्यक्त गरेका छन्। स्थानीय सरकारले उपचार केन्द्र खोले पनि कर्मचारी दरबन्दी र दक्ष जनशक्ति व्यवस्थापन नगर्दा सर्पदंशका बिरामीले उपचार नपाएर ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्य गर्न माग गरेका छन्।

उदयपुरमा चौदण्डीगढी मात्र नभएर कटारी र बेलका नगरापालिकामा अत्याधिक विषालु सर्प पाइने स्थानीयतहहरू हुन्। सदरमुकाम त्रियुगा नगरपालिकामा पनि विषालु सर्पहरू पाइने गरेको छ। बर्सेनि सर्पदंशका कारण दर्जनौँ नागरिकको ज्यान गरेको उदयपुरमा स्थानीय सरकार सञ्चालन हुन थालेपछि भने ठाउँठाउँमा सर्पदंश उपचार केन्द्र स्थापना गरेर बचाउको काम भइरहेको छ।

सुरुसुरुमा सर्पले डसेका बिरामीलाई सर्लाहीको बन्दीपुरस्थित सेनाको सर्पदंश उपचार केन्द्र लानुपर्ने बाध्यता रहेकोमा स्थानीयतह पुनर्संरचनापछि कटारीको ताराघारीस्थित सैनिक गुल्म, सदरमुकाममा सेनाकै भुल्के बाहिनी, बेलकाको रामपुर र चौदण्डीगढीको बेलटारमा उपचार केन्द्र स्थापना गरेर सञ्चालनमा ल्याइएको छ।

यसबाहेक गाईघाटस्थित जिल्ला अस्पताल र कटारी प्रादेशिक अस्पतालमा पनि सर्पदंशको उपचार गर्ने व्यवस्था मिलाइए पनि अझै कतिपय अवस्थामा उपचार नपाएर ज्यान गुमाउनु पर्ने अवस्था कायम रहेको स्थानीयको गुनासो छ।

प्रकाशित: २८ आश्विन २०८२ १३:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App