ट्याक्टरको ठक्करबाट घाईते भएकी वृद्धाको निधन भएको छ । बिहान ८ बजे त्रियुगा नगरपालिका २ मोथियाहीस्थित भित्री कच्ची सडकमा ट्याक्टरले ठक्कर दिएर गम्भीर घाईते भएकी तेत्रीदेवी चौधरीको उपचारका क्रममा निधन भएको हो ।
पैदल यात्रामा रहेकी वृद्धा चौधरीलाई मधेस प्रदेश ०१–००१ त २५६४ नं. को ट्याक्टरले ठक्कर दिएर गम्भीर घाईते बनाएको थियो । दुर्घटनालगत्तै उद्धार गरी उपचारार्थ जिल्ला अस्पताल गाईघाट ल्याइएकोमा उपचारकै क्रममा उनको निधन भएको प्रहरीले जनाएको छ ।
घट्नालगत्तै ट्याक्टर चालक त्रियुगा २ कै २४ वर्षीय धर्मेन्द्र राजधामी फरार भएका छन् । उनको खोजतलास गर्ने काम भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । ट्याक्टर धनी सोही ठाउँका ४० वर्षीय को रामनिवास राजधामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको शव जिल्ला अस्पतालमै पोष्टमार्टमको प्रक्रिया अघि बढाएर थप अनुसन्धान कार्य सुरु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी केदारमान दोङले बताएका छन् ।
प्रकाशित: २७ आश्विन २०८२ १७:०६ सोमबार





