१६ आश्विन २०८३ शुक्रबार
image/svg+xml
समाज

आठ दिनको मौसम पूर्वानुमान : ठूलो वर्षाको संकेत छैन, किसानलाई धान काट्न सहज

मौसमविद् विनोद पोखरेलले आगामी आठ दिन नेपालमा ठूलो वा अति भारी वर्षाको सम्भावना नदेखिएको बताएका छन्। उनले अक्टोबर २ देखि ९ सम्मको ताजा वर्षा पूर्वानुमान सार्वजनिक गर्दै किसानलाई धान काट्ने उपयुक्त दिन छनोट गरी कृषि कार्यको योजना बनाउन सकिने बताए।

चारवटा मौसम मोडेलको औसत पूर्वानुमानअनुसार अक्टोबर २ र ३ मा देशका धेरै स्थानमा हल्का वर्षाको सम्भावना छ। अक्टोबर ४ र ५ मा भने पूर्वी तथा मध्य नेपालको पहाडी क्षेत्रमा वर्षाको सम्भावना र मात्रा केही बढ्ने देखिएको छ।

त्यस्तै, अक्टोबर ६ र ७ मा वर्षाको मुख्य क्षेत्र पश्चिमी नेपालको पहाडी तथा हिमाली भेगतर्फ सर्ने संकेत देखिएको पोखरेलले बताएका छन्। अक्टोबर ८ र ९ मा पनि पहाडी क्षेत्रमा हल्का वर्षा जारी रहन सक्ने पूर्वानुमान छ।

तराई क्षेत्रमा भने यस अवधिमा वर्षाको सम्भावना र मात्रा तुलनात्मक रूपमा कम रहने देखिएको छ। पोखरेलका अनुसार सबै ठाउँमा हरेक दिन वर्षा हुने छैन। अधिकांश स्थानमा वर्षा हल्का रहने र एक–दुई स्थानमा मात्रै मध्यम वर्षा हुन सक्ने देखिएको छ।

अक्टोबर २ देखि ९ सम्मको कुल अनुमानित वर्षा धेरै जिल्लामा करिब १५ देखि ४० मिलिमिटर र केही मध्यपहाडी जिल्लामा ४० देखि ६० मिलिमिटरसम्म हुने देखिएको छ। यो आठ दिनमा पर्ने कुल वर्षाको अनुमान हो, एकैपटक पर्ने वर्षाको मात्रा नभएको पोखरेलले स्पष्ट पारेका छन्।

उनका अनुसार किसानले धान काट्नै रोक्नुपर्ने अवस्था छैन। आफ्नो जिल्ला र दिनअनुसार वर्षाको नक्सा हेरेर कृषि कार्यको योजना बनाउन सकिने उनले बताएका छन्।

प्रकाशित: १६ आश्विन २०८३ ०८:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App