भोटेकोशी नदीमा गएको बाढीपछि गोरखा जिल्लासित जोडिएको क्षेत्रमा आठ जनाको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार प्रहरीले त्रिशूली नदीको गोरखातर्फको बगरमा ती शव फेला पारेको हो।
गण्डकी गाउँपालिका–८ धवादीघाटस्थित नदी किनारमा एक पुरुषको शव फेला परेको छ। यस्तै, गण्डकी–६ भुम्लिचोकस्थित त्रिशूली नदी किनारमा एउटा, गण्डकी–१ बुट्टारस्थित नदी किनारमा एउटा तथा गण्डकी–४ फेवाटारमा एक पुरुषको शव फेला परेको छ।
यसैगरी गण्डकी–७ ज्यामिरेघाटमा एक पुरुषको शव र सहिदलखन गाउँपालिका–३ सिलिङटारस्थित नदी किनारमा तीन पुरुषको शव फेला परेको सूचना अधिकारी श्रेष्ठले बताए।
यसैगरी गण्डकी गाउँपालिका–१ बुटारस्थित निर्माणाधीन सुपर त्रिशूली जलविद्युत् आयोजनाभित्र पनि बाढी पसेको छ।
त्यहाँ रहेका मजदुर र उपकरणलाई सुरक्षित ठाउँमा सारिएको सो आयोजनाका निरञ्जन रेग्मीले जानकारी दिए।
भोटेकोशीमा गएको बाढीका कारण पृथ्वीराजमार्गसँग गोरखा जोड्ने दुई झोलुङ्गे पुल बगाएको छ।
यस्तै, एउटा झोलुङ्गे पुल क्षतिग्रस्त बनाएको सूचना अधिकारी श्रेष्ठले बताए। जिल्लाको गण्डकी गाउँपालिका–८ धवादीघाट र धादिङको चौकीटार जोड्ने झोलुङ्गे पुल बाढीले बगाएको हो।
त्यस्तै वडा नं ७ इटार र धादिङको चौकीटार जोड्ने झोलुङ्गे पुल समेत बगाएको सूचना अधिकारी श्रेष्ठले बताए।
बाढीले सहिदलखन गाउँपालिका–३ सिलिङटार र चितवनको कुरिनटार जोड्ने झोलुङ्गे पुल पूर्णरुपमा क्षति गरेको छ।
गण्डकी गाउँपालिका–७ स्थित धवादीघाटको पुलसँगै हिक्लुङघाट र पृथ्वी राजमार्गको फिस्लिङ पुल क्षतिग्रस्त बनाएको छ।
यस्तै बेनीघाट सिउरेनटार जोड्ने मोटरेबल पुलमा पनि आंशिक क्षति पुगेको छ।
प्रकाशित: १० भाद्र २०८३ १९:२६ बुधबार





