१३ पुस २०८२ आइतबार
image/svg+xml
समाज

तीन करोड ६५ लाखमा नदी नियन्त्रण योजना सम्पन्न

तीन करोड ६५ लाख रुपैयाँको लागतमा म्याग्दीको चार ठाउँमा नदी नियन्त्रण योजना सम्पन्न भएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना पोखराले नदी कटान र बाढी नियन्त्रणका लागि तटबन्ध र कम्पोजित पर्खाल निर्माण गरेको हो। आयोजनाका इन्जिनियर नरजंग गुरुंगले चालु आर्थिक वर्ष २०८१/८२ मा दरवांग, तातोपानी, सिंगा र लामगरामा योजना निर्माण भएको जानकारी दिए।

बेनी नगरपालिका–४ सिंगा तातोपानीको मसारस्थित सरस्वती माविको पछाडि म्याग्दी नदीको किनारमा ठेक्कामार्फत ६६ मिटर लामो, चार मिटर चौडाइ भएको तीन-तीन मिटर अग्लो कंक्रीट र त्यसमाथि ग्याविन पर्खाल निर्माण भएको छ।

दुई करोड ७० लाख रुपैयाँ लागत अनुमान गरिएको योजना निर्माणका लागि गत फागुन महिनामा एक करोड ५५ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको साहाना–बिआरटी जेभीले बर्खा अघि नै काम सम्पन्न गरेको हो।

मालिका गाउँपालिकाको केन्द्र दरवांगस्थित म्याग्दी नदी किनारमा २६ मिटर लामो कम्पोजित प्रविधिको पर्खाल निर्माण भएको छ। बेनी नगरपालिका–४ सिंगाको म्याग्दी नदी किनारमा १५० मिटर र वडा नं १ लामगरास्थित कालीगण्डकी नदी किनारमा १५० मिटर लामो ग्यावियन पर्खाल निर्माण भएको छ।

७०-७० लाख रुपैयाँ विनियोजन भएको दरवांग, सिंगा र लामगराको नदी नियन्त्रण योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन भएको हो। लामगरामा निर्माण भएको ग्यावियन पर्खालको बाहिरी भागमा तारजालीलाई खिया लाग्न नदिन ‘ज्याकेटिंग’ प्लास्टर गरिएको छ।

लामगराको नदी नियन्त्रण योजनाको उपभोक्ता समितिका अध्यक्ष कमल थापाले तटबन्धपछि बस्ती, खेतीयोग्य जमिन र रत्नेचौर लिफ्ट खानेपानी योजनाको इनार संरक्षण भएको बताए।

आयोजनामार्फत यस वर्ष थप चार ठाउँमा नदी नियन्त्रणका लागि विभिन्न निर्माण कम्पनीसँग नौ करोड ७५ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ। सिंगा तातोपानी बजार संरक्षणका लागि म्याग्दी नदी किनारमा १०२ मिटर लामो कम्पोजित प्रविधिको पर्खाल निर्माण गर्न आरआरसी जेभीसँग दुई करोड ७१ लाख रुपैयाँ र बेनीस्थित दरवांग बसपार्क क्षेत्रमा म्याग्दी नदी किनारमा १६५ मिटर कम्पोजित पर्खाल निर्माणका लागि रुपल–सुप्रिमसँग चार करोड २१ लाख ५९ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको छ।

रघुगंगा गाउँपालिका–३ को गायत्री मन्दिर संरक्षणका लागि ५० मिटर लामो कम्पोजित पर्खाल निर्माण गर्न गुरुंग बाजे मण्डली जेभीले ७४ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको छ। बेनीको कालीपुल बस्ती पारी बगरफाँटतर्फ कालीगण्डकी नदी किनारमा ८० मिटर कंक्रीट पर्खाल निर्माणका लागि साहाना–गोपी जेभीले दुई करोड नौ लाख ५९ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको छ। 

चालु आर्थिक वर्षमा ठेकेदार छनोट र सम्झौता भएका योजनाको आगामी आर्थिक वर्षमा निर्माण सम्पन्न गरिने आयोजना प्रमुख विदुरमान श्रेष्ठले बताए। बेनी र आसपासका क्षेत्रमा नदी नियन्त्रण आयोजनाले तीव्रता पाएसँगै तटीय क्षेत्रका बासिन्दाले सुरक्षित महसुस गर्न थालेका छन्। रासस

प्रकाशित: २८ असार २०८२ ०६:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App