उदयपुरको मदन भण्डारी लोकमार्गमा बिहीबार बिहान भएको ट्रक दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
उदयपुरगढी गाउँपालिका–७, अँधेरीमा काठमाडौंबाट इटहरीतर्फ जाँदै गरेको ट्रक अनियन्त्रित भई पल्टिँदा चालक त्रियुगा नगरपालिका–४, बगाहाका ३५ वर्षीय जीवन विश्वकर्माको ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बिहान करिब ६ बजे प्रदेश १–०२–००१ ख ९२६० नम्बरको ट्रक आफैँ अनियन्त्रित भई सडक किनारमा पल्टेको थियो।
दुर्घटनामा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका विश्वकर्मालाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल गाईघाट पुर्याइएको थियो। तर, उपचारकै क्रममा बिहान ८:३० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा डीएसपी केदारमान दोङले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए। प्रहरीले घटनास्थलको सर्जमिन मुचुल्का तयार गरी कानुनी प्रक्रिया अगाडि बढाएको छ।
मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ।
प्रकाशित: १५ श्रावण २०८२ १५:०६ बिहीबार





