लमजुङको दोर्दी गाउँपालिकामा पार्किङ गरिराखेको आफ्नै जिपले च्याप्दा एक चालकको ज्यान गएको छ।
मृत्यु हुनेमा दोर्दी गाउँपालिका–४ ठुलाखेतका २९ वर्षीय कुमार गुरुङ रहेका छन्।
प्रहरीका अनुसार गुरुङले दोर्दी–४ लामिडाँडास्थित आमा समूहको भवन नजिकै ग १ ज ७०९२ नम्बरको बोलेरो जिप चक्कामा ‘ओट’ हालेर पार्किङ गरेका थिए।
गाडी स्टार्ट गरेर उक्त ओट निकाल्ने क्रममा जिप अचानक पछाडि गुडेपछि उनलाई च्यापेको थियो। जिपको पछाडिको भागले च्याप्दा गुरुङको छाती र दुवै हातमा गम्भीर चोट लागेको थियो।
घटना देख्नासाथ स्थानीयले उनलाई तत्काल उद्धार गरी सोही गाडीमा राखेर उपचारका लागि प्रदेश अस्पताल लमजुङ पठाएका थिए।
दिउँसो १२:५० बजे अस्पताल पुर्याइएका गुरुङको स्वास्थ्य जाँच गर्दा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। यस दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ।
प्रकाशित: २६ फाल्गुन २०८२ १५:१८ मंगलबार




-600x400.jpg)
