काठमाडौं उपत्यका खानेपानी सुधार आयोजनाको पहिलो चरणका काम सम्पन्न भएका छन्। मेलम्ची खानेपानी आयोजनाको उप-आयोजना-२ अन्तर्गत आयोजना कार्यान्वयन निर्देशनालयद्वारा सञ्चालित ती आयोजनाको पहिलो चरणका काम सम्पन्न भएका हुन्।
काठमाडौं उपत्यकाका पुराना र जीर्ण खानेपानीका पाइपलाइनलाई नयाँ वितरण प्रणाली बनाएर विस्थापित गर्ने र चुहावट नहुने गरी स्वच्छ र सफा खानेपानी उपत्यकावासीका घरमा समानुपातिक रूपमा वितरण गर्ने उद्देश्यले यो आयोजना सञ्चालनमा ल्याइएको आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का प्रमुख लक्ष्मीराज उपाध्यायले जानकारी दिए। उनले भने, 'आयोजनाअन्तर्गत काठमाडौंका विभिन्न स्थानमा कुल ७४ हजार ५०० घनमिटर पानी भण्डारण क्षमताका दश नयाँ पोखरी बनाइएका छन्।'
आयोजनाको पहिलो चरणमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा नयाँ पानीपोखरी निर्माण, सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रदेखि विभिन्न स्थानका पोखरीसम्म थोक वितरण प्रणाली निर्माण, उपभोक्ताका धारामा पानी पुर्याउन खानेपानी वितरण प्रणाली निर्माण र दुई फोहोरपानी प्रशोधन केन्द्रको निर्माण कार्य सम्पन्न भएको छ।
त्यसैगरी, सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रबाट काठमाडौं उपत्यकाका विभिन्न स्थानका पोखरीमा थोक रूपमा खानेपानी पठाउन प्रतिदिन २२ करोड लिटर क्षमताका करिब ७७ किलोमिटर नयाँ 'थोक वितरण प्रणाली' निर्माण गरिएको आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता ई विकेश बधानथाछेले जानकारी दिए। उनले भने, 'पोखरीबाट उपत्यकावासीका धारामा खानेपानी पुर्याउन कुल एक हजार १० किलोमिटर 'खानेपानी वितरण प्रणाली' निर्माण सम्पन्न भएको छ।' नयाँ पाइपलाइनबाट उपत्यकावासीका धारामा खानेपानी वितरण भइरहेको छ र नयाँ खानेपानी प्रणालीबाट खानेपानी वितरण गर्दा चुहावटको समस्या खासै देखिएको छैन।
नेपाल सरकारको आफ्नै स्रोतबाट स्वयम्भू, बालुवाटार, महाराजगञ्ज, धुम्बाराही, मण्डिखाटार, कपन, चाबहिल र बौद्धको दक्षिणी भेगलगायतका क्षेत्रमा थप करिब ८०० किलोमिटर खानेपानी वितरण प्रणाली निर्माण गरिएको प्रमुख उपाध्यायले बताए। उनले भने, 'काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को पानीपोखरीस्थित शाखा कार्यालयमा बनाइएको नियन्त्रण कक्षबाट स्काडा प्रणालीमार्फत हाल स्वचालित रूपमा सबै पोखरीको व्यवस्थापन र वितरण प्रणाली सञ्चालन भइरहेको छ।'
स्काडा प्रणालीमार्फत सबै पोखरीमा पानीको धमिलोपना र क्लोरिन कन्टेन्ट परीक्षण गरी गुणस्तर मापन गर्ने व्यवस्था पनि गरिएको छ। आयोजना कार्यान्वयन निर्देशनालयबाट काठमाडौं, ललितपुर र भक्तपुरमा निर्माण थालिएका फोहोरपानी प्रशोधन केन्द्रमध्ये दुईवटा फोहोरपानी प्रशोधन केन्द्र निर्माण सम्पन्न भएको छ।
काठमाडौंको गुहेश्वरीमा प्रतिदिन तीन करोड २४ लाख लिटर फोहोरपानी प्रशोधन क्षमताको 'गुहेश्वरी फोहोरपानी प्रशोधन केन्द्र' निर्माण गरी सञ्चालनमा ल्याइएको छ। पशुपति क्षेत्रभन्दा उपल्लो तटीय क्षेत्रबाट आउने फोहोरपानी प्रशोधन गरी सफा र स्वच्छ पानी बाग्मती नदीमा प्रवाह गर्ने उद्देश्यले केन्द्र निर्माण गरिएको आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ। रासस
प्रकाशित: १२ श्रावण २०८२ १६:३९ सोमबार





