भोटेकोशी बाढीमा परी हराइरहेका नेपाली तथा विदेशी नागरिकका आफन्तजनले डिएनए परीक्षणपश्चात् फेला परेका शव तथा शरीरका अङ्ग यकिन गर्न सक्ने प्रक्रिया अघि बढेको छ।
नेपाल प्रहरीले बाढीपछि फेला परेका शव तथा शरीरका अङ्गको डिएनए परीक्षणमार्फत पहिचान गर्ने व्यवस्था मिलाएको जनाएको छ।
पहिचान हुन नसकेका व्यक्तिका आफन्तलाई आवश्यक नमुना उपलब्ध गराउन प्रहरीले आग्रह गरेको छ।
नेपालमा रहेका, सम्पर्कविहीन व्यक्तिका बाबु, आमा, छोरा वा छोरीमध्ये कुनै एक जना पहिलो तहका नातेदारले ताजा रगतको नमुना उपलब्ध गराउनुपर्नेछ।
त्यसका लागि महाराजगञ्जस्थित प्रहरी अस्पतालको प्रयोगशाला वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।
विदेशमा रहेका पहिलो तहका नातेदारले आफ्नो बसोबास रहेको मुलुकको आधिकारिक प्रयोगशालामा डिएनए प्रोफाइलिङ (डिएनए प्रतिरूपण) गराई त्यसको डिजिटल प्रतिलिपि प्रहरीको आधिकारिक इमेलमा पठाउन सक्नेछन्।
प्रहरीका अनुसार ‘डिएनए प्रोफाइल’को तुलना गरी शव तथा शरीरका अङ्गको पहिचान गर्न सम्बन्धित व्यक्तिको पूरा नाम, पहिचानसम्बन्धी विवरण, सम्भव भएमा सम्पर्कविहीन भएको मिति र स्थान, अधिकृत फरेन्सिक प्रयोगशालाबाट प्राप्त डिएनए परीक्षण प्रतिवेदन तथा डिएनए नमुना दिने व्यक्ति र सम्पर्कविहीन व्यक्तिबीचको नाता विवरण आवश्यक पर्नेछ।
प्रकाशित: १५ भाद्र २०८३ १८:४३ सोमबार



-600x400.jpg)

