९ श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

घुससहित डिभिजन प्रमुख र इन्जिनियर अख्तियारको फन्दामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीस्थित भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका डिभिजन प्रमुख र एक मेकानिकल अधिकृतलाई ७ लाख ५० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलिले भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, सर्लाहीकी डिभिजन प्रमुख सि डि इ अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरीलाई घुस रकम सहित रंगेहात पक्राउ गरेको हो। 

सर्वसाधारणको खेतमा बोरिङ तथा मोटर जडान कार्य सम्पन्न भएपनि घुस रकम नदिए भुक्तानी नदिने अडान लिएको थियो । सेवाग्राहीसँग घुस रकम लिदै गर्दा  अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएकोटोलीले दुबैजनालाई  ७ लाख ५० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा रंगेहात पक्राउ गरेको जनाएको छ। 

पक्राउका क्रममा घुस रकमसहित स्रोत नखुलेको ७१ हजार ११५ रुपैयाँ नगद र तीन थान मोबाइल फोन समेत बरामद गरिएको आयोगले जनाएको छ। 

अख्तियारले उनीहरूलाई सर्लाहीको बागमती नगरपालिका–१२ स्थित भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय प्रमुखको सरकारी निवासबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ। 

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जारी गरेको प्रेस विज्ञप्तिमा घटनाबारे आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको उल्लेख गरिएको छ। 

प्रकाशित: ९ श्रावण २०८३ १२:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App