नीट प्रश्नपत्र लिक प्रकरणमा ३६ दिन लामो आन्दोलनपछि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन्। उनको राजीनामा लगत्तै दिल्लीमा क्रकरोच जनता पार्टीले विजय उत्सव मनाइरहेको छ।
जन्तरमन्तरमा उत्सव मनाइरहेका आन्दोलनरत क्रकरोच जनता पार्टीका कार्यकर्ताहरुलाई सम्बोधन गर्दै आन्दोलनका अगुवा अभिजीत दीपकेले क्रकोचहरुको जित भएको बताए।
मन्त्रीको राजीनामापछि उनलेले सरकारसामु नझुकी निरन्तर सङ्घर्ष गर्दा सफलता मिल्ने बताए। उनले भनेकाे- झुक्छ संसार, झुकाउने मान्छे चाहिन्छ।
दीपकेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीप्रति चर्चित बलिउड चलचित्र ‘मुन्ना भाइ एमबीबीएस’ शैलीमा कटाक्ष समेत गरे। मोदीलाई सम्बोधन गर्दै उनले भने- ‘सुभ होगई मामु !’ उनले सत्ताको मातमा जतिसुकै अँध्यारो रात बनाए पनि अन्ततः न्यायको बिहान भएरै छाड्ने टिप्पणी गरे।
दिल्लीको जन्तरमन्तरमा ३६ दिनसम्म चलेको गाँधीगिरी शैलीको निरन्तर आन्दोलनबाट प्रधानमन्त्री मोदीलाई सन्देश दिँदै दीपकेले सरकारको मनपरी र निरङ्कुशतासामु लोकतन्त्रको जित भएको दाबी गरे।
लामो समयसम्म विद्यार्थीको आवाजलाई बेवास्ता गरे पनि अन्ततः सरकार झुक्न बाध्य भएको भन्दै उनले अब प्रधानमन्त्रीले पनि ब्युँझिएर जनताको पीडा सुन्नुपर्ने बताए।
आन्दोलनकारीहरूले प्रश्नपत्र लिकका कारण आत्महत्या गर्न बाध्य भएका विद्यार्थीका पीडित परिवारलाई १/१ करोड रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने र आन्दोलनरत विद्यार्थीहरूमाथि लगाइएका सबै मुद्दा फिर्ता लिनुपर्ने अडान कायम राखेका छन्।
नेपाल र भारतभर चर्चामा रहेको यो ३६ दिने सत्याग्रहमा चर्चित सामाजिक अभियन्ता सोनम वाङ्गचुकले समेत जन्तरमन्तरमै आमरण अनशन बसेर ऐक्यबद्धता जनाएका थिए। चौतर्फी दबाबपछि मन्त्री धर्मेन्द्र प्रधानले आफ्नो राजीनामा पत्र जारी गर्न बाध्य भएका हुन्।
प्रकाशित: ९ श्रावण २०८३ १६:०१ शनिबार





