बलिउडका चर्चित गायक तथा संगीतकार अमाल मलिक र संगीतकार तनिष्क बागचीबीचको विवाद थप चर्किएको छ। अमालले सामाजिक सञ्जाल मार्फत तनिष्कमाथि गम्भीर आरोप लगाउँदै अब कानुनी लडाइँ अदालतसम्म पुग्ने बताएका छन्।
अमाल मलिकले तनिष्क बागचीले टिप्स म्युजिक कम्पनीमा कार्यरत एक महिलालाई विवाह गर्ने वाचा गरेर पछि सम्बन्ध तोडेको तथा दुर्व्यवहार गरेको आरोप लगाएका छन्। उनले ती महिला अहिले गहिरो मानसिक तनावमा रहेको दाबी पनि गरेका छन्।
यसबाहेक, अमालले महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसको नाम प्रयोग गरेर आफूलाई अप्रत्यक्ष रूपमा धम्की दिइएको आरोप लगाएका छन्। उनले पोस्टमा लेखे, –‘यदि लडाइँ गर्न चाहन्छौ भने अदालतमा भेटौं।’
यो विवाद फिल्म ‘सैयारा’ को शीर्षक गीतबाट सुरु भएको मानिन्छ। तनिष्क बागचीले उक्त गीतका लागि आफूले उचित रोयल्टी नपाएको दाबी गरेका थिए। त्यसपछि यशराज फिल्म्सले सम्झौताअनुसार सबै भुक्तानी गरिएको जनाएको थियो, जसपछि तनिष्कले आफ्नो पोस्ट हटाएका थिए।
त्यसयता अमाल मलिकले संगीत उद्योगका विभिन्न विषय उठाउँदै तनिष्क बागचीको खुलेर आलोचना गर्दै आएका छन्।
यद्यपि, अमाल मलिकले लगाएका यी आरोपबारे तनिष्क बागचीले हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्। त्यसैले यी आरोपहरू हालसम्म एकपक्षीय दाबीका रूपमा रहेका छन् र कानुनी रूपमा प्रमाणित भइसकेका छैनन्।
प्रकाशित: ९ श्रावण २०८३ १५:५० शनिबार





