मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३ को मस्यौदामाथि छलफल भएको छ ।
कार्ययोजना तर्जुमा गर्दा हालसम्म सम्पादित कार्यको जानकारी दिन र कार्ययोजनामा प्राप्त राय सुझाव समेटेर मस्यौदालाई अन्तिम रुप दिन छलफल गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्रधिकरणका अनुसार कार्ययोजनाको पहिलो खण्डमा मनसुनजन्य विपद् जोखिम विश्लेषण तथा प्रभाव आँकलन गरिएको छ भने दोस्रो खण्डमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धी जिम्मेवार निकाय र तिनको मुख्य-मुख्य जिम्मेवारी उल्लेख गरिएको छ।
त्यसैगरी, तेस्रो खण्डमा विषयगत क्षेत्र तथा सम्बन्धित निकायको मनसुन पूर्वतयारी र प्रतिकार्य कार्ययोजना र चौथो खण्डमा मनसुन पूर्वतयारी र प्रतिकार्यको लागि आवश्यक पर्ने सम्पर्क व्यक्तिहरु र अत्यावश्यक खोज, उद्धार तथा राहत सामग्रीको विवरण राखिएको छ।
कार्ययोजना तयार गर्नका लागि प्राधिकरणका सहसचिवको संयोजकत्वको २१ सदस्यीय कार्यदल क्रियाशील छ। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले पारित गरेपछि कार्ययोजना कार्यान्वयनमा जानेछ।
प्रकाशित: २८ वैशाख २०८३ १७:५८ सोमबार





