१९ चैत्र २०८२ बिहीबार
image/svg+xml
समाज

सडक विभागको पुरस्कारमा भेदभाव

सडक विभागमा कार्यरत कर्मचारीलाई प्रोत्साहित गर्ने उद्देश्य राखेर दिइएको पुरस्कार (प्रशंसापत्र) मा भेदभाव गरिएको भन्दै विभागमा कार्यरत इन्जिनियरहरूले असन्तुष्टि व्यक्त गरेका छन्।

आर्थिक वर्ष २०८१/८२ मा विभागले हासिल गरेको उपलब्धिबारे समीक्षा तथा आगामी योजनाका बारेमा छलफल गर्न गत असार २१ र २२ गते बुढानीलकण्ठमा समीक्षात्मक कार्यक्रम राखिएको थियो। कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, सचिव केशव शर्मा, विभागका महानिर्देशक डा. विजय जैसी, उपमहानिर्देशक तथा प्रवक्ता प्रभात झालगायत उच्च कर्मचारीको उपस्थिति थियो। साथै कार्यक्रममा देशैभरबाट विभिन्न आयोजना तथा सडक डिभिजन कार्यालयका प्रमुखलाई बोलाइएको थियो। सबैलाई आ–आफ्नो प्रगति विवरण पेस गर्न निर्देशन दिइएको थियो।

कार्यक्रममा ११ विधामा प्रशंसापत्र बाँडिएको छ। प्रशंसापत्र बाँड्दा भेदभाव गरिएको, जजसलाई पुरस्कार दिइनुपर्ने हो, हेरेर पुरस्कार दिन मापदण्ड बनाएको, पहुँच र सेटिङका भरमा पुरस्कार दिएको, माथिल्लो तहका केही कर्मचारीले कोटा छुट्ट्याएर पुरस्कार बाँडेको आदि आरोप विभागको नेतृत्वमाथि लागेको छ।

विभागका एक कर्मचारी भन्छन्, ‘भौतिक पूर्वाधार मन्त्रालयले मात्र होइन, सरकारले नै यस वर्ष हासिल गरेको प्रमुख उपलब्धिमा हुम्लामा सडक पुर्‍याएको विषयलाई प्राथमिकताका साथ प्रचार गरिएको छ। विकट हिमाली जिल्लामा बसेर जसले हुम्लाजस्तो ठाउँमा सडक सञ्जाल जोड्न दिनरात मेहनत गर्‍यो, उसलाई पुरस्कार बाँड्न विधा नै छुट्ट्याइएन।’ हुन पनि हुम्लामा सकेसम्म कर्मचारी जानै मान्दैनन्। गए पनि २/३ महिनाभन्दा बस्दैनन्, तर बेलबहादुर नेपाली जसले लामो समय बसेर हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोडे।

सडक डिभिजन जुम्ला, कर्णाली कोरिडोर, भेरी कोरिडोरमा काम गरिरहेका इन्जिनियरहरूलाई पनि पुरस्कार बाँड्न विधामा राखिएन। यद्यपि महाकाली कोरिडोरमा कार्यरत इन्जिनियर दीपक सुनारलाई उच्च प्रगति हासिल गरेको भन्दै प्रशंसापत्र दिइएको छ।

विभागमा कार्यरत अर्का एक इन्जिनियर भन्छन्, पोहर साल असोज ११ र १२ गते आएको अविरल वर्षाले सबैभन्दा बढी क्षति बिपी राजमार्गमा पुर्‍याएको थियो। त्यसपछि अरनिको राजमार्ग र कान्ति लोकपथमा पनि वर्षाले क्षति पुर्‍याएको थियो। पोहोर साल दसैंमा बिपी राजमार्ग खुलाउन निकै कठिन काम थियो। स्वयं भौतिक पूर्वाधारमन्त्रीले दसैंसम्म बिपी राजमार्ग खुल्ने सम्भावना कम रहेको बताउँदै आएका थिए, तर सडक डिभिजन भक्तपुरका प्रमुख सुमन योगेशलगायत इन्जिनियरहरूको दिनरातको प्रयासले दसैंअघि नै बिपी राजमार्ग खुलाइयो।

त्यतिबेला बिपी राजमार्ग खुलाउन रातभर काम गरिएको थियो। यसैगरी अरनिको राजमार्ग खुलाउन सडक डिभिजन दोलखाका प्रमुख अमित श्रेष्ठ तथा कान्ति राजमार्ग खुलाउन दिनरात काम गरेका कान्ति राजमार्ग सडक योजना प्रमुख रत्नलक्ष्मी बज्राचार्यलाई पनि पुरस्कार बाँडन विधा छुट्ट्याइएन।

सडक डिभिजनका प्रवक्ता तथा उपमहानिर्देशक प्रभात झाले प्रशंसापत्र पाउने कर्मचारीको छनोट गर्न विभागका माथिल्ला कर्मचारीले खल्तीबाट कसैको नाम नदिएकोे दाबी गरे। उनले भने, ‘कसैले गुनासो गरे होलान्, त्यो उनीहरूका कुरा हुन्, तर भेदभाव गरेका छैनौं।’

पुरस्कार दिन मापदण्ड विभागले नै छानेको उनको भनाइ छ। ‘सबै विधामा पुरस्कार दिन सकिएन। सबै विधामा राख्ने हो भने दुई सय विधा राख्नुपर्छ। यतिका विधामा ककसलाई पुरस्कार दिने?’ उनले भने। तर विभागका एक कर्मचारी भन्छन्, ‘विभागका माथिल्लो तहका कर्मचारीले मन नपराएकाहरूले पुरस्कार नपाऊन् भनी पहिल्यै बाटो बन्द गरिएको थियो। जजसले केही वर्षदेखि निरन्तर पुरस्कार पाउँदै आएका छन्, यस वर्ष पनि उनीहरूलाई नै पुरस्कार दिन मापदण्ड तयार गरियो।’

ती कर्मचारी भन्छन्, ‘त्यस्ता व्यक्तिहरू सधैं आकर्षक कार्यालयमा बस्ने गर्छन्, तर उनीहरूले गरेको कार्यसम्पादन लाजमर्दो हुने गरेको छ। उनीहरूले हेर्ने सडकको दुरवस्था नै हुन्छ।’

अर्का एक कर्मचारी भन्छन्, ‘एकजना माथिल्लो कर्मचारीको सल्लाहमा एकजना कर्मचारी समीक्षात्मक कार्यक्रममा वास्तविक कामभन्दा बढी काम गरेको देखाएर पुरस्कार लिन सफल भएका छन्। उनले गरेको कामसँग समीक्षात्मक कार्यक्रममा दाबी गरिएको तथ्यमा मेल खाँदैन। यस  विषयमा विभागले खाेजीनीति गर्छ कि गर्दैन।

प्रकाशित: २६ श्रावण २०८२ ०९:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App