हल्दिबारी गाउँपालिकाको चिया बगानहरूमा ‘लुपर’ नामक कीराको प्रकोप फैलिएको छ। हरियो पत्ती उत्पादन हुने मुख्य समयमा प्रकोप फैलिएका कारण चिया किसानहरूले यसबाट ठूलो क्षति व्यहोर्नु परेको छ।
झापाको मध्य भागमा रहेको हल्दिबारी गाउँपालिकाको पाँच वटा वडाको लगभग एक हजार पाँच सय बिघा क्षेत्रफलमा फैलिएको चिया बगानमा ‘लुपर’ कीराको प्रकोप फैलिएको पालिकाका कृषि शाखाका प्रमुख छविलाल गुरुङले बताए। 'किसानहरूले किरा फैलिएको जानकारी गराउनासाथ बगानको अनुगमन गरेका छौँ,' उनले भने, 'बगानमा क्षति पुगेको पाइएको छ।'
चिया किसान गोपाल गिरीले चियाको हरियो पत्ती टिप्ने मुख्य समयमा हल्दिबारीका ठूला र साना सबै चिया बगानमा ‘लुपर’ कीराले महामारीको रूप लिएको बताए। उनले झापाको हल्दिबारीमा मात्र यो रोगको प्रकोप देखापरेको बताए। यसअघि चियाको बोटमा ‘रेड स्पाइडर’ नामक कीराको प्रकोप देखापर्ने गरेको थियो। ‘लुपर’ का कारण हल्दिबारीका चिया बगान पहेलिएर सुक्न थालेको उनको भनाइ छ।
‘लुपर’ एक प्रकारको झुसिल कीरा वा फौजी कीरा जस्तै पात र मुना खाने कीरा हो। यसलाई ‘लुपर क्याटरपिलर’ वा ‘टि लुपर’ भनेर चिनिन्छ। यसको माउ पुतली हुन्छ। पातमा पारेका असङ्ख्य अण्डाबाट लार्भा निस्किएर चियाको पात खाने गर्दछ।
किसान नवीन मैनालीले वैशाखदेखि सुरु भएको ‘लुपर’ को प्रकोप साउन लागि सक्दा नियन्त्रण नभएको बताए। कीराले पात खाएर चियाको बोटलाई झिक्रामा परिणत गरिदिएको उनले बताए। किसानहरूले पालिकाको कृषि शाखा र कृषि ज्ञान केन्द्रमा परामर्श नगरी किरा नियन्त्रणका लागि जथाभावी विषादी प्रयोग गरिरहेको कृषि शाखाका प्रमुख गुरुङ बताउँछन्।
जथाभावी विषादी प्रयोग गरिएकाले किरामा पचाउन सक्ने शक्ति बढेको हुनसक्ने उनले आशंका गरे। पालिकाभरिका चिया किसान, सहकारी संस्था र उद्योगीहरूलाई पालिकामा बोलाएर प्रकोप नियन्त्रणका लागि अन्तरक्रिया गर्ने तयारी भइरहेको उनले बताए।
अनुगमनमा गएका पालिका अध्यक्ष रवीन्द्र लिङ्देनले रोग नियन्त्रणका लागि पालिकाले सबै किसिमको सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले किसानहरूलाई स्प्रे ट्याङ्की दिने घोषणा गरेका छन्।
चियाको बोटमा वैशाखदेखि नयाँ पात पलाउने भएकाले वैशाखदेखि साउनको समयलाई हरियो पत्ती उत्पादनको सबैभन्दा मुख्य समय मानिन्छ। किसानहरूले यसपालिको यो समयमा चिया पत्ती टिप्न नपाएको कारण करोडौँको नोक्सानी भएको बताएका छन्।
हल्दिबारीमा डाँफे टी प्रोसेसिङ, हल्दिबारी चिया बगानलगायत सात वटा ठूला चिया बगान छन् भने पाँच सयभन्दा बढी परिवारको निजी बगान छ। किसानहरूले सहकारीमार्फत दुई वटा प्रशोधन कारखाना आफैँ चलाउँदै आएका छन्। रासस
प्रकाशित: ३ श्रावण २०८२ १४:१८ शनिबार





