१६ भाद्र २०८३ मंगलबार
image/svg+xml
समाज

प्राधिकरणका कार्यकारी प्रमुख भन्छन् : पूर्वसूचना प्रणाली बलियो बनाउनुपर्छ

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा धर्मराज उप्रेतीले भोटेकोशी बाढीले नेपालमा अन्तरदेशीय पूर्वसूचना प्रणालीको आवश्यकता रहेको बताएका छन्। 

डा उप्रेतीका अनुसार हिमपहिरो, चट्टान खस्ने, त्यसबाट नदी थुनिने र पछि बाँध फुटेर ठूलो बाढी आउने घटनाले विपद्को जोखिमलाई एकअर्कासँग जोडिएको देखाएको छ। यस वर्ष एसियाली क्षेत्रमा औसतभन्दा बढी तापक्रम रहेको र हिमाली क्षेत्रमा समेत तापक्रम वृद्धिले जोखिम बढाएको उनको भनाइ छ। 

उनले भोटेकोशी बाढीका क्रममा नेपालतर्फको बाढी मापन केन्द्र नै बगाएकाले बाढीको वास्तविक स्केल तत्काल पहिचान गर्न नसकिएको बताए। जिल्ला प्रशासनबाट सूचना प्राप्त भएपछि करिब पाँच मिनेटमै एसएमएस अलर्ट जारी गरिएको भए पनि बाढीको वास्तविक आकारबारे जानकारी दिन नसक्दा कतिपय मानिसले सुरक्षित स्थानमा जान समेत गम्भीरता नदेखाएको उनको भनाइ छ। 

डा उप्रेतीले नेपालका ठूला जलाधारमध्ये केही छिमेकी मुलुकसँग जोडिएकाले माथिल्लो तटीय क्षेत्रमा हुने गतिविधिबारे तल्लो तटीय क्षेत्रले तत्काल जानकारी पाउने व्यवस्था आवश्यक रहेको बताए। त्यसका लागि दुई वा बहुदेशीय पूर्वसूचना प्रणाली विकास गर्नुपर्ने उनको भनाइ छ। 

‘देशको सीमा होइन, जलाधारलाई आधार बनाएर सूचना प्रवाह गर्न सकिए जीवन बचाउन ठूलो सहयोग पुग्छ, ’उनले भने, ‘आगामी दिनमा अन्तरदेशीय पूर्वसूचना प्रणाली निर्माणमा लगानी बढाउनुपर्छ।’ 

बाढीले पुरानो केन्द्र बगाएपछि प्राधिकरणले तत्काल नयाँ मापन केन्द्र स्थापना गर्न थालेको डा उप्रेतीको भनाइ छ । उनका अनुसार हेलिकप्टरमार्फत भोटेकोशीको सिरान क्षेत्रमा नयाँ स्टेशन राख्ने काम सुरु गरिएको र त्यसबाट प्राप्त तथ्यांक जल तथा मौसम विज्ञान विभागको प्रणालीमा देखिनेछ। 

नयाँ प्रणालीले बाढीको वास्तविक स्केल पहिचान गर्न सहयोग गर्ने र त्यसका आधारमा तल्लो तटीय क्षेत्रमा कति समयमा बाढी पुग्न सक्छ भन्ने अनुमान गर्न सकिने उनले बताए। त्यसले प्रभावित क्षेत्रमा डेढदेखि तीन घण्टासम्मको अतिरिक्त पूर्वसूचना समय उपलब्ध गराउन सक्ने भएकाले जीवन रक्षाका लागि महत्वपूर्ण हुने उनको भनाइ छ। 

उनले ठूलो बाढीको अवस्थामा सूचना दिएर मात्रै नपुग्ने भन्दै आवश्यक परे राज्यले ‘फोर्स इभ्याकुएसन’ अर्थात् अनिवार्य उद्धार तथा स्थानान्तरणसमेत गर्नुपर्ने पाठ भोटेकोशी घटनाले सिकाएको बताए।  

प्रकाशित: १६ भाद्र २०८३ १२:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App