बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका–९ बिस्नापानी भन्ने स्थानमा बिहीबार राती ८ बजे भिरबाट लडेर मृत्यु भएका व्यक्तिको शव निकाल्न समस्या भएको छ । भौगोलिक विकटता र स्रोतसाधनको अभावमा उनको शव निकाल्न कठिनाइ भइरहेको हो ।
काठमाण्डौं जिल्लाको गोकर्णेश्वर नगरपालिका–५ नारायणटार बस्ने ५२ वर्षीय विप्लव ओझा बडिमालिका मन्दिर दर्शन पश्चात् नाटेश्वरी धाम जाने क्रममा बाटोबाट चिप्लिएर करिब ७ सय मिटर तल बिस्नापानी खोल्सामा खसेका थिए ।
घटनाबारे जानकारी पाएपश्चात् सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म बाजुराबाट बडिमालिका त्रिवेणी धाममा मेला सुरक्षार्थ खटिएको टोली घटनास्थलमा पुगेर शव निकाल्ने प्रयास गरेको थियो । सो टोलीबाट सम्भव नभएपछि थप मद्दतको लागि आश्रित गुल्म बाजुराबाट २३ गते बिहान विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज त्यसतर्फ पठाइएको छ । आश्रित गुल्म बाजुराबाट घटनास्थल करिब ४० किलोमिटरको दुरीमा रहेको र उक्त स्थानमा पुग्न पैदलै जानुपर्ने भएकोले थप मद्दत टोली आज राती मात्र त्यस ठाउँमा पुग्नेछ ।
प्रकाशित: २३ श्रावण २०८२ १६:२४ शुक्रबार