१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

पर्यटक पर्खदैं गुल्मीको ‘विचित्र गुफा’

गुल्मीको पर्यटकीय क्षेत्रका रुपमा चिनिने विचित्र गुफा यतिबेला पर्यटकको पर्खाइमा छ।

सुन्दर आकर्षक र कलात्मक देखिने उक्त गुफा आन्तरिक एवं बाह्य पर्यटकका लागि मुख्य आकर्षक गन्तव्यस्थल मानिन्छ। धार्मिक एवं पर्यटककीय महत्त्व बोकेको उक्त गुफा यतिबेला थप आन्तरिक एवं बाह्य पर्यटकको प्रतीक्षामा छ।

विचित्र गुफा जिल्ला सदरमुकाम तम्घासदेखि पाँच कोष उत्तरमा पर्दछ। धुर्कोट गाउँपालिका–५ स्थित वस्तुमा रहेको उक्त गुफा पर्यटकहरुका लागि आफैँमा साँच्चिकै विचित्रको छ।

विसं २०४५ मा बारीमा मकै खान गएको ढेँडुबाँदरलाई लखेट्ने क्रममा स्थानीय जनार्दन भण्डारीले पहिलोपटक उक्त गुफा पत्ता लगाएका थिए।

भण्डारीले आफ्नो बारीमा मकै खान आएको अवस्थामा ढेँडुबाँदरलाई देखेर लखेट्दै जाने क्रममा उक्त ढेँडुबाँदर एकाएक पहरा (चट्टान) को बीचमा रहेको सानो प्वालबाट भित्र पसेको बताइन्छ।

पछि स्थानीयको केही समूह राँको बालेर ढेँडुबाँदर पसेको ठाउँ हेर्दै जाँदा त्यस क्षेत्रमा ठूलो गुफा रहेको पत्ता लगाएको स्थानीय युवराज भण्डारीले बताए।

गुफा पत्ता लागेपछि विगत लामो सयमदेखि विचित्र गुफा हेर्नका लागि आन्तरिक पर्यटकहरूको घुइँचो लाग्ने गर्दथ्यो। पछिल्लो समयमा बाह्य क्षेत्रमा समेत विचित्र गुफाको प्रचारप्रसार हुन थालेपछि गुफा हेर्नका बेलाबेलामा विदेशी पर्यटकहरु समेत आवागमन बढ्न थालेको हो।

विगतको समयमा फाटफुट रुपमा केही विदेशी नागरिक गुफा हेर्नका लागि आउने गरे पनि पछिल्लो समयमा फ्रान्स जर्मनी र बेलायतका नागरिकहरू पर्यटककै रुपमा गुफा हेर्नका लागि आउने गरेको धुर्कोट गाउँपालिका अध्यक्ष भूपाल पोख्रेलले बताए।

धेरै विदेशी नागरिकहरू सिर्सेनीमा रहेको अरबिन्द्र आश्रममा योग साधनाका लागि आएका अवसरमा एकपटक गुफामा पुगेर फर्कने गरेको अध्यक्ष पोख्रेलले बताए।

विचित्र गुफाको लम्बाइ १८५ मिटर छ भने चौडाइ ३५० मिटर रहेको छ। ठूलो र चौडा भूभागमा फैलिएका गुफाको मुख्य द्वारबाट भित्र पसेपछि थप पाँच वटा द्वारहरुको प्राकृतिक आकार देख्न सकिन्छ।

विचित्र गुफा बाहिरको प्राकृतिक सुन्दरताले गुफाको थप सौन्दर्यता बढाएको छ। गुफामा पुग्ने आन्तरिक एवं बाह्य पर्यटकहरुलाई त्यहाँको इतिहास तथा धार्मिक महत्वका बारेमा जानकारी गराउने प्रचलन छ। गुफाको मुख्य ढोकाबाट प्रवेश गरेपछि भित्ताहरूमा देखिने विभिन्न आकृतिहरूले एकपटक सबैको ध्यान केन्द्रित गर्दछ।

विचित्र गुफाको मुख्य आकर्षण भनेको ‘स्वर्ग जाने बाटो’ हो। यो धार्मिक दृष्टिकोणले पनि निकै महत्त्वपूर्ण मानिन्छ। ‘स्वर्ग जाने बाटो’ पुगेपछि गुफाको गन्तव्य टुङ्गिन्छ।

स्वर्ग जाने बाटोमा धर्मात्माहरु मात्र भित्र पस्न सक्छन् भन्ने मान्यता छ। स्वर्ग जाने बाटो एकदमै साँगुरो छ र त्यहाँ स्पष्ट देख्न सकिने एउटा दृश्य हात्तीको भीमकाय शरीर हो।

त्यहाँ प्राकृतिक रुपमा हात्तीको शरीर, पुच्छर र सुँड स्पष्ट रुपमा देख्न सकिन्छ। त्यसदेखि अगाडि कुनै पनि दृश्य नभएको कारण उक्त ठाउँलाई विचित्रताको अन्तिम दृश्यका रुपमा मानिन्छ।

जुन मानिस उक्त स्वर्ग जाने बाटो भित्र छिर्न सक्छन् उनीहरुले आफूलाई साह्रै भाग्यमानी सम्झने गर्दछन्। गुफाभित्र रहेका विभिन्न जनावरका आकृतिले गुफाको सौन्दर्यतालाई थप शोभा थपिदिएको छ।

गुफाको पर्यटन प्रवर्द्धन तथा संरक्षणका लागि स्थानीय पालिका, प्रदेश र सङ्घबाट  गरी दुई करोडभन्दा बढी लगानी भइसकेको गाउँपालिका अध्यक्ष पोख्रेलले बताए। सदरमुकाम तम्घासबाट १८ किलोमटरको दूरीमा रहेको उक्त गुफामा पुग्न यातायात र पैदल मार्ग हुँदै सजिलै पुग्न सकिन्छ। 

प्रकाशित: ९ मंसिर २०८२ १७:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App