३ श्रावण २०८३ आइतबार
image/svg+xml
समाज

वसन्तयामको धौलागिरि हिमाल आरोहण सुरु : पहिलो दिन ९ जनाले गरे पुगे

धौलागिरि हिमालमा चालु वसन्तयामको आरोहण सुरुआत भएको छ। धौलागिरि गाउँपालिका–४ स्थित विश्वको सातौँ धौलागिरि हिमालको उचाइ आठ हजार १६७ मिटर छ।

इमेजिन नेपाल कम्पनीमार्फत आरोहणका लागि गएका चार विदेशी र पाँच नेपालीले शनिबार चालु वसन्तयामको पहिलो सफल आरोहण गरेका हुन्। चीनका लिउ होङ, लिउ यिशी, वाङ, झोङ, स्विटजरल्याण्डका क्रिस्टिन भोगोन्डी, नेपालका फुर ग्याल्जेन शेर्पा, पासाङ नाम्गेल शेर्पा, किली पेम्बा शेर्पा, ङिमा नुरु शेर्पा र पेम्बा छिरी शेर्पाको टोलीले धौलागिरिको सफल आरोहण गरेका इमेजिन नेपालले जनाएको छ।

शनिबार दिउँसो ११ः४० बजे धौलागिरिको चुचुरोमा पुगेको आरोहण टोली सकुशल रूपमा तेस्रो आधार शिविरमा फर्किएको आरोहण टोलीको नेतृत्व गरेका फुर ग्याल्जेन शेर्पाले बताए। शेर्पाहरूको टोलीले हिउँमा डोरी तानेर बाटो तयार पारेपछि उनीहरूको सहयोगमा आरोही चुचुरोमा पुगेका हुन्।

पर्यटन विभागका अनुसार वसन्तयाममा धौलागिरि आरोहणका लागि तीन समूहका १२ महिला र १६ पुरुषले अनुमति लिएका छन्। अनुमति लिएकाबाट रु एक करोड २५ लाख ६० हजार ८५० सलामी दस्तुर (शुल्क) प्राप्त भएको पर्यटन विभागका शाखा अधिकृत शर्मिला बञ्जाडेले बताए। गत शरद्याममा धौलागिरि हिमाल आरोहणका लागि ३६ जनाले अनुमति लिएका थिए।

छिनछिनमा परिवर्तन हुने मौसम धौलागिरि आरोहणको चुनौती हो। अन्य हिमालको तुलनामा धौलागिरि आरोहणलाई जोखिमयुक्त र साहसिक मानिन्छ। सन् १९६० मे १३ मा अस्ट्रियाका कुर्ट डिम्बर्गरले पहिलोपटक धौलागिरि हिमालको सफल आरोहण गरेका थिए।

डिम्बर्गरसहित पिटर डियनर, एन्स्ट फोरर, एल्बिन सेल्वर्ट, निमा दोर्ज र नवाङ दोर्ज पहिलो पटक धौलागिरिको चुचुरोमा पुगेका थिए। रासस

प्रकाशित: ६ वैशाख २०८३ १०:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App