३ श्रावण २०८३ आइतबार
image/svg+xml
खेल

डेसच्याम्प्सको १४ वर्षे युगको अन्त्य : एमबाप्पेले गरे भावुक बिदाइ

फिफा विश्वकप २०२६ को कांस्य पदकका लागि मियामीमा भएको खेलमा इंग्ल्यान्डसँग ६-४ ले पराजित भएपछि फ्रान्सेली राष्ट्रिय टोलीका प्रशिक्षक डिडियर डेसच्याम्प्सको १४ वर्षे लामो कार्यकाल औपचारिक रूपमा समाप्त भएको छ। 

विश्वकपअघि नै प्रतियोगिताको अन्त्यसँगै पद छाड्ने घोषणा गरेका डेसच्याम्प्सका लागि यो अन्तिम खेल सुखद हुन सकेन। डेसच्याम्प्सले फ्रान्सेली टोली 'लेस ब्लियस' को प्रशिक्षकका रूपमा १८६ खेलमा नेतृत्व गरे। उनको कार्यकालमा टोलीले कुल १८६ खेलमा १२० जित, ३५ बराबरी र ३१ हारको नतिजा निकाल्यो। यस अवधिमा फ्रान्सले ४०० गोल गर्‍यो भने १७४ गोल खायो। यो तथ्यांकले फ्रान्सेली फुटबलको इतिहासमै एक दशकभन्दा लामो र अत्यन्त सफल युगको अन्त्य गरेको छ।

प्रशिक्षक डेसच्याम्प्सको बिदाइमा स्टार खेलाडी केलियन एमबाप्पेले भावुक हुँदै सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामीलाई यति धेरै दिने व्यक्तिलाई हामीले अझ राम्रो बिदाइ दिनुपर्थ्यो तर हामी चुक्यौँ। विगत १४ वर्षमा तपाईंले हामीलाई जे जति दिनुभयो, त्यसलाई शब्दमा व्यक्त गर्न निकै गाह्रो छ। यो टोलीको पुनर्गठनमा तपाईं मुख्य खेलाडी हुनुहुन्थ्यो। मानिसहरूले सधैं तपाईंको महानतालाई बुझ्न सकेनन्, तर समय र इतिहासले यी सबै कुरा फेर्नेछ।’

एमबाप्पेले आफूलाई व्यक्तिगत रूपमा परेको प्रभावका लागि पनि डेसच्याम्प्सलाई धन्यवाद दिए। उनी फ्रान्सको सिनियर राष्ट्रिय टोलीमा डेसच्याम्प्सको नेतृत्वमा खेल्ने एक प्रमुख खेलाडी हुन्। एमबाप्पेले थपे, ‘यति धेरै वर्षसम्म सबैभन्दा ठूलो मञ्चमा मेरो देशको प्रतिनिधित्व गर्ने अवसर दिएकोमा धन्यवाद। हाम्रा देशका एक महान् किंवदन्ती (अति उच्च व्यक्तित्व) को साथमा रहन पाएकोमा म आफूलाई भाग्यमानी ठान्छु। तपाईंको नयाँ यात्राका लागि शुभकामना र मेरो लागि धेरै महत्त्वपूर्ण यो जर्सीका लागि तपाईंले ल्याएका सबै योगदानका लागि पुनः धन्यवाद।’

फ्रान्सेली फुटबल महासंघ (एफएफएफ) ले पनि डेसच्याम्प्सको योगदानको उच्च कदर गरेको छ। महासंघले एक विज्ञप्तिमा भनेको छ, ‘सन् २०१२ देखि फ्रान्सको नेतृत्वमा हासिल गरेको असाधारण कामको लागि एफएफएफ राष्ट्रिय टोलीका प्रशिक्षक डिडियर डेसच्याम्प्सलाई सलाम गर्छ।’ महासंघले डेसच्याम्प्सले प्रदर्शन र जिम्मेवारीको संस्कृति हस्तान्तरण गरेको बताउँदै भनेको छ, ‘डिडियर डेसच्याम्प्सले कठोरता, अनुशासन, सामूहिक भावना र नीलो जर्सीप्रतिको प्रेमलाई मूर्त रूप दिए। उनको नेतृत्वमा १४ वर्षसम्म फ्रान्सेली राष्ट्रिय टोलीले विश्वभर विश्वसनीयता र सम्मान पुन: प्राप्त गर्‍यो।’ 

एफएफएफले उनलाई सन् १९९८ को विश्वकप विजेता कप्तान र पछि विश्वकप विजेता प्रशिक्षकको रूपमा फ्रान्सेली फुटबलको इतिहासमा विशेष स्थान दिएको थियो।

डेसच्याम्प्सको बिदाइसँगै अब जिनेदिन जिदानले सेप्टेम्बर १ देखि टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने प्रबल सम्भावना छ। जिदान र डेसच्याम्प्सले सन् १९९८ को विश्वकप र सन् २००० को युरोपेली च्याम्पियनसिप जित्दा सँगै खेलेका थिए। डेसच्याम्प्सले आफ्नो आगामी योजनाबारे भने केही बताएका छैनन्। एजेन्सीको सहयोगमा 

प्रकाशित: ३ श्रावण २०८३ ०८:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App