दुई पक्षीय युवा समूहबिचको विवादले उग्र रूप लिएर सुनसरी देवानगञ्जमा भएको हिंसात्मक कार्यपछि मंगलबार बिहान केही सहज बनेको छ।
सोमबार बिहानदेखि साँझसम्म तनावग्रस्त अवस्था मंगलबार बिहान सहज बनेको हो। आइतबार राति प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएपछि सोमबार बिहानैदेखि स्थिति तनावग्रस्त बनेको थियो।
स्थानीय प्रशासनले स्थिति नियन्त्रण बाहिर जान नदिनका लागि बिहान ७ बजेदेखि नै कर्फ्यु आदेश जारी गरेतापनि त्यसको उल्लंघन गर्दै प्रदर्शनकारीले देवानगञ्जसँगै सुनसरीको इनरुवा, लौकही, भोक्राहा नरसिंहलगायतका ठाउँ ठाउँमा प्रदर्शन गर्दा स्थिति तनावग्रस्त बनेको थियो।
स्थिति भयावह हुने खतरापछि सुरक्षा समितिको बैठकले सेना परिचालन गरेको थियो। प्रहरीले देवानगञ्जसँगै हरिनगर, इनरुवा, कोशी र भोक्राहा नरसिंह गाउँपालिका क्षेत्रमा जतिसुकै बेला हिंसा भड्कन सक्ने भएकाले गर्दा सोही अनुसारको सुरक्षा तयारी गरेको जनाएको छ।
मंगलबार बिहान भने अहिलेसम्म प्रदर्शनकारी सडकमा आएका छैनन्। यद्यपि, कुनै पनि बेला खतरा हुन सक्ने ठहर गरि सुरक्षाकर्मी हाइ अलर्टमा राखिएको सुनसरीका प्रहरी प्रमुख एसपी केशव थेबेले बताए। उनका अनुसार अहिले बिहान शान्त भएतापनि सोमबारको अवस्था हेर्दा दिउँसो समस्या हुन सक्छ।
देवानगञ्जमा डियूटीमै खटिएका प्रहरी निरीक्षक प्रकाश पराजुलीले बिहान शान्त भएतापनि ढुक्क हुने अवस्था भने नभएको बताए। दिउँसोको समयमा समस्या हुन सक्ने उनले बताए। अहिले पूर्व पश्चिम राजमार्ग अन्तर्गत कोशी ब्यारेजदेखि इनरुवासम्म सहज ढंगले यातायात सुचारु भएको पनि एसपी थेबेले बताए। देवानगञ्जमा भएका घटनाले गर्दा सोमबार इनरुवादेखि कोशी ब्यारेजसम्म ठाउँ ठाउँमा प्रदर्शनकारीले प्रदर्शन गरेका थिए।
प्रहरीको गोली लागेर देवानगञ्ज गाउँपालिका वडा नं. ४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। सो घटनामा कम्तीमा २१ जना घाइते भएकोमा दुई जनाको अवस्था गम्भीर रहेका छ।
देवानगञ्ज घटनापछि सरकारले सिडिओ बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरूलाई फिर्ता समेत बोलाएको छ। सरकारले सिडिओ घिमिरेलाई गृह मन्त्रालयमा फिर्ता बोलाएको हो। उनको ठाउँमा संखुवासभाका सिडिओ इश्वरीप्रसाद अर्याललाई खटाइएको छ। अर्याल सोमबार राति नै आइसकेका छन्।
सरकारले कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) विनोद घिमिरे, सुनसरीका प्रहरी प्रमुख एसपी केशव थेबे र सशस्त्र प्रहरी बल नेपाल कप्तानगञ्जमा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) नन्दकिशोर महतोलाई पनि फिर्ता बोलाएको हो।
कोशी प्रदेश प्रहरी कार्यालय प्रमुख डिआइजीमा प्रहरी प्रधान कार्यालयमा कार्यरत डिआइजी शेखर खनाल, भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई सुनसरी र सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, काठमाडौंमा कार्यरत डिएसपी मदन नाथलाई कप्तानगञ्जमा पठाइएको छ। कोशी प्रदेशका डिआइजी घिमिरे र सुनसरीका एसपी थेबे केही दिनदेखि बिदामा थिए। सोमबार पाँच बजेपछि भने थेबे फर्किएका थिए।
घटनाको विषयमा छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भइसकेको छ। समितिले एक साताभित्रमा प्रतिवेदन बुझाउनेछ।
प्रकाशित: १२ श्रावण २०८३ ०७:४४ मंगलबार





