स्थानीय प्रशासनले यो तिहारमा राति ८ बजेसम्म मात्र देउसी भैलो खेल्न दिने भएको छ । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै राति ८ बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने जानकारी गराएको हो ।
नजिकिएको नेपालीहरुको महत्वपूर्ण चाडहरु तिहार, छठ, नेपाल संवतजस्ता पर्वहरु संस्कार, संस्कृति र परम्परा बचाउन एकापसमा मिलेर सुरक्षित र मर्यादित भएर मनाउन प्रशासनले आग्रह गरेको छ । देउसी भैलो अनुशासित, मर्यादित र सुरक्षित भएर खेल्न आग्रह गर्दै प्रशासनले परम्परागत संस्कार र संस्कृति बचाउने नाममा असुरक्षित र अमर्यादित गतिबिधि हुन नदिन राति ८ बजेसम्म मात्र समय सीमा तोकिएको प्रशासनले जनाएको छ ।
राति अबेरसम्म देउसी भैलो खेल्दा होहल्ला र उछृङ्खल गतिबिधि हुनसक्ने भएकाले सुरक्षालाई ध्यानमा राखेर निषेध गरिएको प्रशासनले जनाएको छ ।
प्रशासनले जारी गरेको ९ बुँदे सूचनामा चाडबाडको मौका छोपेर कानुनले निषेध गरेको जुवा, तास, डाईस, लङ्गुर बुर्जा, सट्टेबाज, अनलाईन गेम, अनलाईन सपिङहरु पनि नखेल्न, नखेलाउन आग्रह गरिएको छ । साथै दैनिक उपभोग्यमा कालोबजारी गर्न, कृतिम अभाव सृजना गर्न तथा अनावश्यक मूल्य बृद्धि नगर्न पनि सचेत गराइएको छ ।
दिपावली तथा छठ पर्व मनाउने क्रममा दियो तथा विद्युतीय बत्तीहरु जथाभावी बाल्दा विद्युत सर्ट भएर वा आगो सल्केर आगलागी हुने हुँदा त्यसप्रति विचार गर्न सर्वसाधारणलाई सचेत गराइएको छ ।
चाडपर्वमा मनोरञ्जनका नाममा आतिसवाजी, पटाका, भुईचम्पा वा बमजस्ता विष्फोटक पदार्थहरुको किनबेच, ओसार पसार तथा प्रयोगमा पनि बन्देज लगाइएको प्रशासनले ज नाएको छ । त्यसैगरी मादक पदार्थ खाएर सार्वजनिक स्थानमा हिडडुल गर्न, होहल्ला गर्न तथा सामाजमा अशान्ति उत्पन्न हुने कुनै पनि गतिबिधि नगर्न पनि सुझाइएको छ । सवारी साधन हाँक्दा ट्राफिक नियम पालना गर्न, अनावश्यक उछिनपाछिन नगर्न तथा सीमित गतीमा चलाउन पनि प्रशासनको आग्रह छ ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईटेलले जेड पुस्ताको आन्दोलनपछिको राजनीतिक परिस्थिति तरल अवस्थाको रहेकाले चाडपर्वका बेला झन् सबै सचेत हुनुपनर्जे आवश्यक्ता रहेको बताए । पछिल्लो तरल अवस्थाको सुरक्षा समबेदनसिलतालाई मध्येनजर गर्दै जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको उनले बताए ।
जिल्ला प्रशासन कार्यालय उदयपुर ।
प्रकाशित: १ कार्तिक २०८२ १८:५८ शनिबार





